धनी व्यक्तिको सूचीमा अम्बानीलाई भेट्याए अडानीले, एकैदिन ३७५ मिलियन डलर सम्पत्ति बढ्यो



एजेन्सी । भारतमा पछिल्ला दिनहरुमा गौतम अडानीको राज चल्न थालेको छ । खास गरी नरेन्द्र मोदी प्रधानमन्त्री भएदेखि नै सत्ता र शक्तिको देखिने गरी प्रयोग गरिरहेका अडानीले अर्का अर्बपति मुकेश अम्बानीको हाराहारीमा आफूलाई उभ्याएका छन् ।

खास गरी व्यापारका हरेक क्षेत्रमा एक अर्कालाई राम्ररी नै टक्कर दिइरहेका अडानी र अम्बानी एउटा कुरामा सहमत छन् । त्यो भनेको जसरी पनि व्यापार बढाउने र जसरी पनि पैसा आर्जन गर्ने । सो मामिलामा अम्बानी बढी व्यवसायीक छन् ।

उनी हालसम्म राजनीतिक रुपमा खासै विवादमा पनि आएका छैनन् । तर, अडानी मोदी सरकारको शक्ति प्रयोग गर्ने र सकेसम्म कानूनका छिद्र खोज्ने काममा समेत उत्तिकै क्रियाशिल छन् ।

पछिल्ला दिनमा त दुई अर्बपति व्यापारीको हरित ऊर्जामा समेत उत्तिकै प्रतिष्पर्धा देखिएको छ । उनीहरु एकले अर्कोलाई उछिन्ने दौडमा लागेका छन् । दौड कहाँ गएर कसरी कसरी मिल्छ वा मिल्दैन भन्ने बारेमा स्पष्ट छैन । तर, व्यापार, पैसा र शक्तिको दौड भने जारी छ ।

मोदी प्रधानमन्त्री भएपछि अडानीले देशका प्रमुख ७ विमानस्थलको व्यवस्थापन गर्ने जिम्मेवारी पाए । मोदीका नीतिअनुसार सरकारी सम्पत्ति विनिवेश गर्नुपर्छ । त्यसबाट आएको पैसा अन्य क्षेत्रमा लगानी गर्नुपर्छ । मोदीले सरकारी स्वामित्वको एयरलाइन्स त टाटा समूहलाई बिक्री गरिसकेका छन् ।

यस्तै बीमा कम्पनी र अन्य सरकारी संस्थानहरु समेत एकपछि अर्को गर्दै बिक्री गरिरहेका छन् । विनिवेशको चरण शुरु भएको भन्दै भारतमा व्यापारीहरुको होडबाजी पनि उस्तै चलिरहेको छ ।

गुजरातदेखि नै मोदी र अडानीबीचको सम्बन्ध क्रमशः बिस्तारित भएका थिए । भारतमा अडानीका खासमा मोदीको व्यापारीका रुपमा चिनिन्छ । खासगरी क्रोनी क्यापिटलिजमको राम्रै प्रयोग मोदीले अडानीमार्फत् गरिरहेको टिप्पणी पनि बेला बेला आलोचकहरुले गरिरहेका छन् ।

सम्पत्तिको हिसाब गर्दा अडानी र अम्बानीको हैसियत बराबरी भएको छ । दुबैको सम्पत्ति ६.६३ लाख करोड भारु बराबर भएको छ ।

विवरण अनुसार उनीहरुको सम्पत्ति ८९ अर्ब डलर बराबर पुगेको छ । एशियाको हिसाबले हेर्दा दुबै अर्बपति सबैभन्दा धनी देखिएका छन् भने बराबर समेत भएका छन् । अब एकले अर्कालाई कसरी पछार्ने भन्ने मात्रै बाँकी छ ।

जानकारी अनुसार बुधबार अडानी समूहको फर्मको कूल बजार पूँजीकरण १० लाख करोड बराबर हुन पुग्यो । त्यही समयमा रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण १४.९१ लाख करोडमा झर्यो ।

बजार पूँजीकरणका आधारमा रिलायन्स अगाडि छ । तर गौतम अडानीको कम्पनीको हिस्सेदारीको तुलनामा अडानीको आफनै समूहको कम्पनीको हिस्सेदारी बढी छ । सोही कारणले एक दिनकै लागि भएपनि अम्बानी भन्दा अडानी बढी भनी हुन पुगे ।

मुकेश अम्बानीको रिलायन्समा ५०.६१ प्रतिशत मात्रै हिससेदारी छ । जबकी अडानीको हिस्सेदारी उनको कम्पनीमा ७०.५९ प्रतिशत छ । अडानीका ३ कम्पनीको हिस्सेदारी ७४.९२ प्रतिशत रहेको छ । बजार पूँजीकरणका आधारमा गरिएको मूलयांकन हेर्दा हाल कायम रहेको सेयर संख्या र त्यसको मूल्यका आधारमा अम्बानी र अडानीको सम्पत्तिको हिस्सा बराबर छ ।

साउदी अरामसँगको डिल खारेज भएपछि अम्बानीको १५ अर्ब डलर बराबरको लगानी समेत गुमेको छ । सोही कारण रिलायन्सको सेयरमा लगातार गिरावट देखिएको छ ।

सो गिरावट बुधबार भारी मात्रामा देखियो । बुधबार बीएससीमा रिलायन्सको सेयर १.४८ प्रतिशतले ओरालो लागेर २ हजार ३५०.९० मा बन्द भएको थियो । सो कम्पनीमा लगानीकर्ताको २२ हजार करोड बराबरको सम्पत्ति क्षणभरमा नै गायव भयो ।

अम्बानी स्वयम् नै यसमा ११ हजार करोड बराबर गुमाउन पुगे । रिलायन्स भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । सेयर बजारमा कम्पनीको सेयर ओरालो लागेका कारण रिलायन्स इन्डस्ट्रिज इन्फास्ट्रक्चरको सेयरमा १.५७ प्रतिशतले गिरावट आएको थियो । सो गिरावटका कारण बजार पूँजीकरण ९२६.९१ करोड बराबर हुन पुगेको छ ।

अडानीको कम्पनीको सेयर मूल्य बुधबार १२ हजार करोडले वृद्धि भयो । बजार पूँजीकरण ४ हजार २५० करोडले वृद्धि भयो । बुधबार बजारमा अडानी इन्टरप्राइजेजको सेयरमा २.७६ प्रतिशतले वृद्धि भयो । सो आधारमा बजार पूँजीकरण १ लाख ९२ हजार ९८७.१८ करोड भारु बराबर भयो । सेयर मूल्य भने १ हजार ७५४.६५ मा पुग्यो ।

अडानी प्रसारण कम्पनीको सेयर मूल्यमा ०.८५ प्रतिशतले ओरालो लाग्यो । अडानी ग्रीन इनर्जी १.३७ प्रतिशतले ओरालो लागेर १ हजार ३८७.७ र अडानी टोटल ग्यासको सेयरमा १.५८ प्रतिशतले घटेको थियो ।

दुई कम्पनीको बजार पूँजीकरण १ लाख करोड भन्दा माथि रहेको छ । त्यसमा अडानी प्रसारणको बजार पूँजीकरण २.११ लाख करोड र ग्रीन इनर्जीको २.१७ लाख करोड बराबर रहेको छ ।


क्लिकमान्डु