वाणिज्य बैंकमा निक्षेप घट्दै, सीडी रेसियो ९०% बढी
काठमाडौं । तरलता अभाव खेपिरहेका वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम जारी देखिएको छ ।
दुई दिनको अवधिमा बैंकबाट १ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदरको माथिल्लो सीमा १०.०५ प्रतिशत निर्धारण गरेसँगै बैंकमा केही दिनका लागि निक्षेप बढेपनि पुनः घट्न थालेको छ । शनिबारसम्म ४२ खर्ब २९ अर्ब रुपैयाँ रहेको निक्षेप सोमबार ४२ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ ।
बैंकमा लगानीयोग्य रकम (तरलता) अभावभएसँगै कर्जा–निक्षेप अनुपात(सीडी) रेसियो सोमबार ९०.३१ प्रतिशत पुगेको छ । शनिबार सीडी रेसियो घटेर ९०.१८ प्रतिशत रहेको थियो । वाणिज्य बैंकमा तरलता अभावले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
राष्ट्र बैंकको पछिल्लो निर्देशनले केही दिन प्रणालीमा निक्षेप थपिए पनि पुनः निक्षेप घट्न थालेको छ । राष्ट्र बैंकले घुमाउरो तरिकाले २०४६ सालपछि ब्याजदर तोकेपनि त्यसको प्रभाव खासै देखिएको छैन ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (क्रेडिट डिपोजिट रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।
पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिनेछ भन्ने व्यवस्था गरेको थियो ।
तरलता अभावले सीडी रेसियो ९० प्रतिशत पार गरेको छ । बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोबारको दर सोमबार ४.९६ प्रतिशत पुगेको छ ।