सेयर बजारमा जीवन बीमा कम्पनीको करिब ६६ अर्ब लगानी, कुन कम्पनीको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीले सेयर बजारमा करिब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको पहिलो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।

बीमा कम्पनीहरुले सेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, म्युचअल फण्ड र नागारिक लगानी कोषमा लगानी गरेका हुन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २५ अर्ब १४ करोड रुपैयाँ, सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा २१ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् भने म्युचुअल फण्ड र नागरिक लगानी कोषमा कम्पनीहरुले ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।

सबैभन्दा धेरै लगानी एलआइसी नेपालको
यसअवधिमा सेयर बजारमा सबैभन्दा धेरै लगानी एलआइसी नेपालले गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासको अवधिमा सेयर बजारमा ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ९ अर्ब रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ७ अर्ब ३३ करोड रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ८ करोड रुपैयाँ लगानी गरेको छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १५ अर्ब लगानी
यस अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् ।
सबैभन्दा धेरै नेपाल लाइफले लगानी गरेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले उक्त क्षेत्रमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै, एलआइसी नेपालले २ अर्ब ६७ करोड रुपैयाँ, नेशनल लाइफले १ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरमा २५ अर्ब लगानी
१९ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २५ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा उक्त क्षेत्रमा एलआइसी नेपालले सबैभन्दा धेरै लगानी गरेको छ । कम्पनीले ९ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै, नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २४ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।

समितिले बीमकको लगानी निर्देशीका, २०७५ जारी कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र तोकिदिएको छ । निर्देशिका बमोजिम कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारमा गर्नुपर्ने व्यवस्था छ ।

लगानी निर्देशिका अनुसार ५ प्रतिशत नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा, ४० प्रतिशत वाणिज्य बैंकको मुद्दति निक्षेपमा, विकास बैंकको मुद्दतिमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत, ५ प्रतिशत घरजग्गा ब्यवसायमा र २० प्रतिशत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्छन् ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले २० प्रतिशत ऋणपत्रमा, नागरिकलगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत र बैंक तथा वित्त कम्पनीको साधारण सेयरमा २० प्रतिशत लगानी गर्न पाउँछन् ।

कुन कम्पनीको कति लगानी ?


बिजया बास्कोटा