चार महिनामा ७ खर्बको वैदेशिक व्यापार, कात्तिक महिनामा निर्यातमा संकुचन



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालले ७ खर्ब ३२ अर्ब १७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो । उक्त वैदेशिक व्यापार चार महिनाको अवधिमा हालसम्मकै उच्च हो ।

गत वर्ष सोही अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा ६५.४५ प्रतिशतले वैदेशिक व्यापार बढी गरेको छ ।

चालु आवको पहिलो ४ महिनामा नेपालले हालसम्मकै उच्च आयात निर्यात गरी इतिहास कायम गरेको छ ।

कात्तिकसम्ममा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

सोही अवधिमा नेपालले आर्थिक वर्ष २०७७÷७८ को ४ महिनाको अवधिमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको मात्रै आयात गरेको थियो । जसमा चालु आवमा गत वर्षको तुलनामा ६१.५७ प्रतिशतले आयात बढेको देखिन्छ ।

तर, प्रत्येक महिनाको तुलनामा कात्तिक महिनामा निर्यातमा संकुचन आएको छ । यसअघि प्रत्येक महिना २० अर्ब बढीको निर्यात गर्दै आएकोमा कात्तिकमा भने १७ अर्बको मात्रै निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले ४ महिनाको अवधिमा ७ खर्ब बढीको वस्तु आयात गर्दा नेपालले ८२ अर्बको वस्तु निर्यात गर्न सफल भएको छ । ४ महिनाको अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले ४० अर्ब २० करोड रुपैयाँको मात्रै निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आव १०४.२९ प्रतिशतले निर्यात बढेको छ ।

त्यस्तै, उच्च रुपमा आयात निर्यात गरेको नेपालले पहिलो ४ महिनामै उच्च व्यापारघाटा व्यहोरेको छ । नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गर्दा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । सोही अवधिमा नेपालले ४ खर्बको वैदेशिक व्यापार गर्दा ३ खर्ब ६२ अर्ब २९ करोडको वैदेशिक व्यापारघाटा व्यहोरेको थियो । जसमा नेपालले ४ महिनाको अवधिमा गत वर्षको तुलनामा ५६.८३ प्रतिशतले व्यापारघाटा व्यहोरेको छ ।

साथै, नेपालले ४ महिनामा आयातित वस्तुबाट १ खर्ब ७२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

नेपालले सो अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । उक्त अवधिमा नेपालले ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको बराबरको ४ लाख ६४ हजार किलोलिटर डिजेल आयात गरेको छ । त्यसैगरी, कच्चा भट्मासको तेल २७ अर्ब २२ करोड ७१ लाख रुपैयाँ बराबरको १७ करोड ३८ लाख ८ हजार लिटर आयात गरेको छ ।

साथै, २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १९ अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबरको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको पेट्रोल, १७ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको आइरन, स्टिल, १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, १४ अर्ब ९५ करोड ५० लाख बराबरको सुन र १२ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।


क्लिकमान्डु