विद्यार्थी बीमाः १५० रुपैयाँ प्रिमियम तिर्दा, लाखौंको जोखिम बहन



काठमाडौं । आफ्ना सन्तानको सुन्दर भविष्यको कल्पना नगर्ने अभिभावक संसारमा सायदै कोही होलान् । हरेक अभिभावकले आफ्ना सन्तानको उज्जवल भविष्यका लागि सुन्दर सपना देख्छन् । देखेको सपना पूरा गर्न हरक्षण लागि परिरहन्छन् ।

व्यस्त जीवनशैलीका कारण अभिभावक आफ्ना सन्तानको शिक्षाका लागि पूर्णरुपमा विद्यालयको भर पर्छन् । विद्यालयको भरमा परेका अभिभावकले कहिलेकाँही अप्रिय घटनासमेत व्योहोर्नुपर्छ ।

विद्यार्थी विद्यालय जाँदा उत्पन्न हुने दुर्घटनाको रक्षावरणका लागि भन्दै बीमा कम्पनीहरुले विद्यार्थी लक्षित बीमालेख ल्याएका हुन् । पोलिसीबाट अभिभावक तथा विद्यालयको आर्थिक बोझ समेत कम हुने बीमा कम्पनीको विश्वास छ ।

ती बीमालेखले विद्यार्थीका साथसाथै अभिभावको जोखिमको रक्षावरण गर्नेछ । हाल सञ्चालनमा रहेका दुई निर्जीवन बीमा कम्पनीले विद्यार्थी लक्षित बीमालेख बिक्री गरिरहेका छन् ।

आईएमई जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमालेख बिक्री गर्दै आएका हुन् ।

यी कम्पनीले ल्याएका बीमालेखले विद्यार्थी घरदेखि निस्केपछि विद्यालय परिसर नपुगुञ्जेल र विद्यालयदेखि घरसम्म नपुगुञ्जेलसम्मको जोखिमको रक्षावरण गर्नेछन् । ती बीमालेखले विद्यालयले लैजाने भ्रमण तथा पिकनिकमा हुने दुर्घटनाको समेत रक्षावरण गर्नेछ ।

राष्ट्रिय बीमा कम्पनीको विद्यार्थी सुरक्षा बीमालेख
राष्ट्रिय बीमा कम्पनीले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै विद्यार्थी सुरक्षा बीमालेख बिक्री गर्दै आएको छ ।

विद्यार्थी सुरक्षा बीमालेखमा न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ तोकिएको छ । अधिकतम भने कम्पनीको जोखिमाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने छ ।

बीमित विद्यार्थीको दुर्घटना भएर उपचार गर्नुपर्ने अवस्थामा बीमांकको १० प्रतिशतसम्म अर्थात १ लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाइन्छ । दुई वर्ष अघि ल्याएको कम्पनीको यस्तो बीमालेख ३ विद्यालयले खरिद गरेका छन् ।

कम्पनीले तीन विद्यालयका २ हजार जना विद्यार्थीलाई बीमित गरेको छ । दुई वर्ष अघि बीमा योजना शुरु भएपनि देशमा फैलिएको कोरोना भाइरसका कारणले बीमालेख बिक्रीमा समस्या उत्पन्न भएको कम्पनीका नायव नायवप्रबन्धक माधव उपाध्यायले बताए ।

कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनका कारण विद्यालय बन्द भएकाले उक्त बीमालेख लोकप्रिय बन्न सकेन । महामारीको जोखिम कम भएसँगै विद्यालयले फेरि बीमाका प्रस्ताव पठाउन थालेको उनको भनाइ छ ।

यस बीमालेख खरिद गर्नका लागि विद्यालयले विद्यार्थी संख्या यकिन गरेर कम्पनीमा प्रस्ताव गर्छन् । सोही बमोजिम विद्यालयले आफ्ना विद्याथीको बीमा गर्ने गर्छ ।

हाल वार्षिक प्रतिव्यक्ति १५० रुपैयाँ तिरेर बीमा गर्न सकिने उपाध्यायले बताए । १५० रुपैयाँ तिरेर बीमा गरेपछि केही जोखिम भएको खण्डमा बीमितले १ लाख रुपैयाँसम्म पाउने छन् ।

त्यसबाट घरबाट विद्यालय र विद्यालयबाट घर नफर्केसम्मका लागि हुने जोखिमको कभर हुने उपाध्याय बताउँछन् ।

कुनै विद्यार्थीलाई चोट पटक लागेमा, अंगभगं भएमा वा मृत्यु नै भएमा पनि कभर दिने गरी उक्त बीमालेख ल्याइएको उनको भनाइ छ । बीमित विद्यार्थी घाइते भएमा बीमांक रकमको १० प्रतिशत रकम उपचार खर्चको लागि दिइने उनले बताए ।

स्कुलले आयोजना गरेका विभिन्न कार्यक्रमहरु खेलकुद, पिकनिक, भ्रमणमा भएको दुर्घटनाहरुबाट भएको क्षतिलाई समेत यो बीमालेखले कभर गर्नेछ ।

भ्रमण जाँदा, पिकनिक जाँदा पनि धेरै दुर्घटना हुने क्षतिबाट विद्यार्थीहरुलाई केही फाइदा पुगोस् भनेर बीमालेख ल्याइएको उनको भनाइ छ ।

तराईका जिल्ला तिर विद्यार्थी अपहरण गरेर फिरौती माग्ने क्रममा विद्यार्थीको अंगभंग भएको अवस्था तथा मृत्यु भएको अवस्थामा पनि यस बीमालेखले जोखिम कभर गर्ने उनको भनाइ छ ।

जानी जानी आफैले गराएको चोट, आत्महत्या वा आत्महत्याको प्रयास, मादक पदार्थ वा लागु औषधिका प्रभावको कारणबाट भएको मृत्यु वा चोटपटकको भने भुक्तानी हुँदैन ।

यस्तै, यस बीमालेखले प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई जहाजमा यात्रीको रुपमा यात्रा गरेकोमा बाहेक अन्य उडान, कावा खाने खेल व्हील रेश, घोड दौड, बन्जी जम्पिङ, प्याराग्लाईडिङ वा मोटरसाइकल दौड, पोलो, पर्वतारोहण, हाइकिङ्ग, निसानावाजि, पागलपन जस्ताको भुक्तानी गर्दैन ।

आईजीआई विद्यार्थी बीमाः वार्षिक ८६० मै बीमा
निर्जीवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले कक्षा १ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीका लागि आईजीआई विद्यार्थी बीमालेख बिक्री गर्दै आएको छ ।

यो योजनामा हरेक विद्यार्थीले भ्याटसहित जम्मा बार्षिक ८६० रुपैयाँ तिरेर बीमा गर्दा विद्यार्थीको मात्रै नभएर अभिभावकको समेत सुरक्षा हुनेछ ।
कम्पनीले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नका लागि भन्दै सो बीमालेख ल्याएको दावी गरेको छ ।

विद्यार्थीहरुलाई बीमा सुरक्षा प्रदान गर्न तथा सम्भावित दुर्घटनाबाट अविभावक र विद्यालयलाई आर्थिक भार पर्नबाट जोगाउने उद्देश्य कम्पनीको छ ।

यस बीमा योजनाले विद्यार्थी गम्भीर दुर्घटनामा परी घाइते भएमा ३ लाख रुपैयाँसम्म, मृत्यु भएमा १ लाख रुपैयाँसम्म क्षतिपूर्ति बहन गर्छ । त्यसका साथै, अभिभावकको मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको क्षतिपूर्ति बहन गर्छ ।

यस बीमा योजनामा सरिक भएकाले विद्याथीको अंगभंग भएमा वा शारीरिक रुपमा पूर्ण अशक्तता भएमा बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन सय प्रतिशत अर्थात ३० लाख तथा अभिभावकको हकमा बीमांक रकमको ५० प्रतिशत अर्थात दुई लाख ५० हजार भुक्तानी पाउनेछन् ।

यसका साथै, आईजीआई विद्यार्थी बीमालेखले दुर्घटनाका कारण औषधोपचार गर्नु परेमा बीमित विद्यार्थीलाई २५ हजार रुपैयाँसम्मको उपचार खर्च कम्पनीले बेहोर्ने र अस्पतालमा भर्ना हुनु परेको अवस्थामा पनि ५० हजार रुपैयाँ भुक्तानी गर्नेछ ।


बिजया बास्कोटा