ड्याट्सनको बजार खस्कँदा पायोनियर कर्पलाई किक्स र म्याग्नाइटको साथ



काठमाडौं । पायोनियर मोटो कर्पले सन् २०२१ मा ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन् २०२० को तुलनामा ४४ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा भने ३ अर्ब २३ करोड ९० लाख र सन् २०१८ मा २ अर्ब ७२ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा निशान कारको रहेको छ । सन् २०२१ मा निशान कार अन्तर्गतका किक्स र म्याग्नाइट ब्राण्ड बिक्रीबाट हुने आम्दानीको हिस्सा ८० प्रतिशत छ । यो भनेको करिब ३ अर्ब रुपैयाँ हो ।

पछिल्लो तीन वर्षयता ड्याट्सन गाडीको बिक्रीमा गिरावट आएपछि निशानको बिक्रीमा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो समय व्यक्तिगत प्रयोजनका लागि कार खरिद गर्नेहरुको संख्या बढिरहेको छ । विशेष गरी दशैं तिहार जस्ता पर्वको अवसरमा यस्ता कारको माग अत्यधिक बढेको थियो । कम्पनीहरुले डिमान्डअनुसार गाडी सप्लाइ गर्न समेत सकेका थिएनन् । जसको सकारात्मक प्रभाव कम्पनीको आम्दानीमा देखिएको हो ।

पायोनियर मोटो कर्प प्रालि सन् २०१४ मा स्थापना भएको हो । यो कम्पनी निसान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता समेत हो । कम्पनीको प्रमोटरमा सन्दीपककुमार सारडा छन् । उनी कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् ।

हाल कम्पनीका ३ वटा शोरुम छन् । जसमा २ वटा काठमाडौं र एउटा बिराटनगरमा छ । साथै, १० वटा रिजनल डिलरसिप आउटलेट पनि सञ्चालनमा छन् ।

कम्पनीले हालै १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ समेत गराएको छ ।


क्लिकमान्डु