बजेट खर्च नभएपछि तात्यो अर्थ, भौतिक पूर्वाधार मन्त्रालयलाई प्रश्न- २ खर्ब के गर्नुभयो ?



काठमाडौं । पुँजीगत खर्च न्यून भएपछि अर्थमन्त्रालयले विकासे मन्त्रालयसँग छलफल शुरु गरेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रलयका सचिव रविन्द्रनाथ श्रेष्ठ तथा सडक विभागका महानिर्देशकलाई बोलाएर बजेट खर्चको विषयमा छलफल गरेका छन् ।

मन्त्री शर्माका सल्लाहकार डा. सुरेन्द्र उप्रेतीका अनुसार सरकारको खर्च लक्ष्य अनुसार नभएपछि मन्त्री शर्माले विकासे मन्त्रालयका मन्त्री र सचिव तथा डिजीहरुसँग छलफल गरेका हुन् ।

मन्त्री शर्माले भौतिकलाई २ खर्ब बढी बजेट विनियोजन गरेको र त्यो रकम कहाँ कसरी खर्च भइरहेको भन्ने बारे जानकारी माग गरेका छन् ।

जवाफमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सचिवले मन्त्रालयमा मन्त्री नभएको, चाडवाडको कारण खर्च गर्न नसकेको जवाफ दिएका छन् । अब मन्त्रालयले गर्ने खर्चलाई तिब्र बनाउने आश्वासन दिएका छन् ।

डा. उप्रेतिका अनुसार मन्त्री शर्माले अब उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सहरी विकास र खानेपानी मन्त्रालयसँग छलफल गर्ने तयारी भएको छ ।

अर्थमन्त्रालय आफैले पुँजीगत खर्च नगर्ने तर अन्य मन्त्रालयहरुलाई सहजिकरण गर्ने भएकाले त्यसको लागि आवश्यक सहजिकरण गर्ने कुनै समस्या परेको खण्डमा समाधान गर्ने र धमाधम खर्च गर्न निर्देशन दिन थालेको छ ।

बिहीबारसम्म सरकारको पुँजीगत खर्च ४.५७ प्रतिशत मात्रै भएको छ ।

मन्त्री शर्माले प्रतिस्थापन विद्येयक मार्फत बलेट ल्याएपनि प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने आश्वासन दिएका थिए । तर अहिले सरकारको खर्च अपेक्षा अनुसार नहुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएको छ ।

प्रणालीमा तरलता अभावभएसँगै राज्यले राजस्व संकलन मात्रै गरेको र बजेट खर्च नगरेको भन्दै खर्च बढाउन दबाब शुरु भएको छ ।


क्लिकमान्डु