इन्टरनेटमा ‘प्राइस वार’, सिजीको ५० एमबीपीएस इन्टरनेट ६४९ रुपैयाँमै
काठमाडौं । पछिल्लो समय इन्टरनेट बजारमा मूल्यको चर्को प्रतिस्पर्धा भइरहेको छ । खासगरी, जेठ महिना महिनामा सिजी नेट बजारमा प्रवेश गरेसँगै ‘प्राइस वार’ बढेको हो ।
९ सय ९९ रुपैयाँमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउँदै बजारमा सिजीको प्रवेश भएसँगै यसले तरंग नै ल्यायो । यति सस्तोमा पनि इन्टरनेट उपलब्ध हुन सक्ने रहेछन् भनेर अन्य कम्पनीलाई ग्राहकले गाली पनि गरे ।
इन्टरनेटको मूल्यमा तरंग ल्याएको सिजीले पुनः अर्को मूल्य तोकेको छ । उसले ल्याएको नयाँ मूल्यअनुसार प्रतिमहिना ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध हुनेछ । यो प्याकेज विद्यार्थी, साना तथा मझौला व्यापार, घरायसी प्रयोगका लागि उपयोगी हुने सिजी नेटले जनाएको छ ।
सिजीले सस्तो दरमा नेट उपलब्ध गराएसँगै अन्य कम्पनीले पनि आफ्नो मूल्यमा पुनरावलोकन गरिरहेका छन् ।
जस्तो कि डिसहोमले विभिन्न प्याकेज ल्याएको छ । उस एक सय एमबीपीएसको इन्टरनेट वर्षदिनका लागि १४ हजार २ सय ८८ रुपैयाँ तोकेको छ । त्यस्तै, १० एमबीपीएसको इन्टरनेट एक वर्षका लागि ८ हजार ८ सय ४१ रुपैयाँ तोकेको छ ।
अर्को इन्टरनेट सेवा प्रदायक भायानेटले पनि ६० एबबीपीएसको इन्टरनेट मासिक १ हजार २ सय ५० रुपैयाँमा उपलब्ध गराएको छ । त्यसमा टिभी र एनसेलको ४८ जिबी मोबाइल डेटा प्याक पनि उपलब्ध गराएको छ ।
त्यसैगरी सुविसुले वार्षिक १३ हजार ९ सय ९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट अफर ल्याएको छ ।
वर्ल्डलिंकले पनि ३ तीन एमबीपीएसको इन्टरनेट टिभी र टिभीविनाको प्याकेज ल्याएको छ ।