आगामी मंसिर १ गतेबाट ईम्बोस्ड नम्बर प्लेट लागू हुने



काठमाडौं । आगामी मंसिर १ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू हुने भएको छ । सरकारले सोमबार राजपत्रमा प्रकाशन गर्दै आगामी मंसिर १ गतेबाट ईम्बोस्ड नम्बर प्लेट लागू गर्ने भएको हो ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधन यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ को क्रमसंख्या १४ ले दिएको अधिकार प्रयोग गरी पव्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा दर्ता कायम रहेका सवारीमा ईम्बोस्ड प्लेट सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय भएको छ,’ राजपत्रमा उल्लेख छ ।

यससँगै, २०७४ साल भदौ १२ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित गरेको मन्त्रालयको सूचना खारेज गरेको जनाएको छ ।

राजपत्रका अनुसार उक्त ईम्बोस्ड नम्बर प्लेट बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा लागू हुने भएको छ । त्यस्तै, ५ प्रदेशमा रहेका सार्वजनिक सवारी, पर्यटन सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानको सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू हुने उल्लेख गरेको छ ।

राजपत्रमा नयाँ सवारी दर्ता भएकोलाई आगामी मंसिर १ गतेदेखि, सवारी नामसरी गरेकालाई फागुन १ गतेदेखि र सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्नेलाई २०७९ को जेठ १ गतेबाट लागू हुने जनाएको छ ।

साथै, कुनै सवारी धनीले दस्तुर बुझाई रितपूर्वक निवेलदन दिएमा त्यस्तो मिति अगावै सम्बन्धित यातायात व्यवस्था कार्यालयले सवारीमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन् ।


क्लिकमान्डु