एभरेष्ट बैंकको लाभांश १० वर्षयताकै कम



काठमाडौैं । एभरेष्ट बैंकले सेयरधनीहरुलाई यसपटक १० वर्ष यताकै सबैभन्दा कम लाभांश दिएको छ । कुनै समय ७० प्रशितसम्म लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी जम्मा १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

१० वर्षको अवधिमा बैंकले सेयरधनीलाई दिएको या सबैभन्दा कम लाभांश हो । बैंकले यसअघिका आर्थिक वर्षहरुमा ७० प्रतिशत लाभांश दिएको रेकर्ड छ । तर, अहिले बैंकले क्षमता हुँदाहुँदै पनि लाभांश दरलाई खुम्च्याएको हो ।

विगत २ वर्षयता बैंकले लाभांश घटाउँदै आएको छ । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गरेसँगै २० प्रतिशतको साझेदार भारतको पञ्जाब नेशनल बैंकले बोनस सेयरमा चासो नदेखाएपछि एभरेष्ट बैंकले पछिल्ला वर्षमा लाभांश दर घटाउँदै आएको छ ।

बैंकहरुलाई लाभांश दिँदा ७० प्रतिशत बोनस र ३० प्रतिशत नगद दिनुपर्ने, नगदको सीमा त्यसभन्दा बढाउन नपाउने व्यवस्था गरेसँगै बैंकले लाभांश दर घटाएको छ ।

गत आवको चौथो त्रैमासको वित्तीय अवस्था हेर्दा करिब २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता छ । अझ जगेडा कोष चलाउने हो भने लाभांश अझै थपिने छ ।

असार मसान्तसम्म बैंकको जगेडा कोषमा ९ अर्ब १४ करोड ८१ लाख ५३ हजार रुपैयाँ रहेको छ । यसले बैंकको जगेडा कोष निकै बलियो रहेको देखाउँछ । आवश्यक परेको अवस्थामा जगेडा कोषबाट पनि सेयरधनीहरुलाई लाभांश दिन सकिन्छ ।

तर, बैंकले पछिल्ला वर्षहरुमा लाभांश घटाइरहेको छ । राष्ट्र बैंकले अहिलेको नीतिलाई संशोधन गरेर नगद लाभांश वितरणलाई खुकुलो बनाएको अवस्थामा बैंकले उच्च दरको नगद लाभांश दिने नीति लिएर बसेको देखिन्छ । बैंकको यस्तो नीतिका कारण क्षमता हुँदाहुँदै पनि लगानीकर्ताले अपेक्षा अनुसारको लाभांश पाएका छैनन् ।

बैंकले आव २०७२/०७३ मा ७० प्रतिशत बोनस दिएको थियो भने आव २०७०/७१ मा ६२ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद ५० र बोनस १२ प्रतिशत रहेको थियो । आव २०६८/०६९ मा ३० प्रतिशत बोनस सेयर दिएको बैंकले आव २०६९/७० मा ६०.६३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र नगद ५०.५३ प्रतिशत रहेको थियो ।

आव २०७१/७२ बैंकले ३६.५७ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३० र नगद ६.५७ प्रतिशत रहेको थियो । आव २०७३/०७४ मा १.७४ प्रतिशत नगद र ३३ प्रतिशत बोनससहित ३४.७४ प्रतिशत लाभांश दिएको बैंकले आव २०७४/७५ मा बोनस नदिई २० प्रतिशत नगद मात्रै दिएको थियो ।

यस्तै आव २०७५/७६ मा २५ प्रतिशत लाभांश दिएको बैंकले बोनस ५ र नगद २० प्रतिशत दिएको थियो । यो अवधिसम्म बैंकले बोनसभन्दा पनि नगद लाभांशमा बढी दिएको थियो ।

बैंकले आव २०७६/७७ मा १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस ५ र नगद ५.५३ प्रतिशत दिएको थियो । आव २०७७/७८ को लागि पनि १०.३२ प्रतिशत लाभांश घोषणा गरेकोमा बोनस ६ र नगद ४.३२ प्रतिशत रहेको छ ।

गत आवको नाफाबाट बैंकको नाफाबाट बैंकले प्रयाप्त लाभांश नदिएको लगानीकर्ताहरुको गुनासो रहेको छ । एभरेष्ट बैंकले पहिलादेखि नै बोनस दिनुभन्दा पनि नगद बढी दिँदै आएको छ । अहिले पनि त्यही नीतिलाई अबलम्बन गर्न खोजेको देखिएको छ ।

बैंकले राष्ट्र बैंकको ७०-३० को नीतिलाई आत्मसाथ गर्दा लगानीकर्ता अपेक्षित लाभांश पाउनबाट बन्चित भएको भन्दै गुनासो गर्न थालेका छन् । नेपालका लगानीकर्ताहरु नगदभन्दा पनि बोनसमा बढी ध्यान दिने प्रवृत्तिका रहेका छन् । तर कतिपय लगानीकर्ताहरुले अहिले बैंकले लाभांश थोरै दिएपनि जगेडा कोष बलियो बनाएर राख्नु राम्रो हुने र त्यसले बैंकको स्वास्थ्य बलियो हुने तर्क गरिरहेका छन् ।


क्लिकमान्डु