बसाइँसराइले सुनसरीमा घरजग्गाको कारोबार अत्यधिक, मासिक २८ सय बढी किनबेच



काठमाडौं । कोभिडपछिको घर जग्गाको उच्च कारोबार र राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले घरजग्गा कारोबारबाट मासिक ८ खर्ब राजश्व संकलन हुन थालेको छ ।

उच्च रुपमा कारोबार भएसँगै बजारमा जग्गाको मूल्य ५० प्रतिशतसम्म मूल्य बढेको छ । सामान्य अवस्थाको तुलनामा उच्च रुपमा कारोबार हुँदै घरजग्गा कारोबार मुख्य सहरमा मात्रै केन्द्रित नभएर विकासका सम्भावित क्षेत्र र सहरमा पनि अत्यधिक कारोबार र मूल्य बढेको मालपोत कार्यालयहरूले जनाएको छ ।

देशभर वार्षिक ६ लाख बढी घरजग्गा लिखित पारित हुन्छ भने मासिक ६० हजारभन्दा बढी कारोबार हुँदै आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागको तथ्याङ्कले पनि कोभिडपश्चात अत्यधिक कारोबार बढ्न थालेको स्पष्ट पार्दछ ।

त्यसैगरी, देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी मालपोत कार्यालयले गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार देशभरका मालपोत कार्यालयमध्ये इनरुवा सुनसरी मालपोत कार्यालय बढी कारोबार गरी एक नम्बर कायम गर्दै आएको छ ।

सो जिल्लामा दुई मालपोत कार्यालय छन् । एउटा सुनसरी इनरुवा र अर्को धरान सुनसरी । यी दुईमध्ये सबैभन्दा बढी कारोबार गर्ने भनेको इनरुवा सुनसरी रहेको छ । उक्त मालपोत कार्यालयबाट मात्रै मासिक २८ सयभन्दा बढी घरजग्गाको किनबेच हुने गरेको पाइन्छ ।

गत वर्ष हालसम्मकै उच्च कारोबार गरी सो मालपोत कार्यालयले नयाँ रेकर्ड कायम गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा सो मालपोत कार्यालयबाट १० हजार २०८ लिखित पारित भएको थियो भने धरान सुनसरीबाट ६ हजार ३४७ घरजग्गाको लिखित पारित भएको थियो । उक्त समयमा कोभिडका कारण करिब ३ महिना ठप्प हुँदा कारोबार केही कम भएको विभागले जनाएको छ ।

तर, कोभिडकै समयपनि आव २०७७/७८ मा हालसम्मकै उच्च कारोबार गरेको विभागको तथ्याङ्कले देखाउँदछ । गत वर्ष सुनसरी इनरुवा मालपोत कार्यालयबाट मात्रै करिब २८ हजार घरजग्गाको लिखित पारित भएको छ ।

जुन देशभरका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी कारोबार गरी पहिलो नम्बरमा रहेको छ । त्यसैगरी, विभागको तथ्याङ्कअनुसार असोज महिनामा मात्रै २८ सय ५७ घरजग्गाको कारोबार भएको छ ।

सुनसरीमा घरजग्गा अत्यधिक बढ्नुको मुख्य कारण बसाईंसराईं रहेको इनरुवा सुनसरी मालपोत कार्यालयका प्रमुख षडहादुर पोखरेल बताउँछन् । उनकाअनुसार सुनसरीमा पहाडबाट बसाइ सरी सुनसरीको बजारतर्फ आकर्षित हुँदा जग्गाको कारोबारसँगै मूल्य अत्यधिक बढेको छ ।

‘पहाडतिरको मानिसहरू विदेशमा गएर कमाएर आएपछि तराईंमा बसाईं सर्ने प्रवृत्ति अत्यधिक रहेको छ,’ उनले भने, ‘सुनसरी बस्न र उत्पादनको हिसाबले पनि उपयुक्त स्थान भएकाले घरजग्गा कारोबार बढी भएको देखिन्छ ।’

उक्त जिल्लामा विशेषगरी बझाङ, सिराहा र भोजपुरबाट बढी बसाईसराई भएको उनको भनाइ छ ।

इनरुवा सुनसरीमा क्षेत्रधिकारभित्र पर्ने जग्गाको सरकारी मूल्याङ्कन कति ?


देशभर १ सय २६ मालपोत कार्यालयमा सबैभन्दा बढी किनबेच हुने कार्यालय हो भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी । इनरुवा सुनसरीले आर्थिक वर्ष २०७७/७८ मा उक्त मालपोत कार्यालयबाट मात्रै २७ हजार ९ सय ५५ घरजग्गाको किनबेच भएको छ ।

देशभरमा मालपोत कार्यालयबाट उच्च घरजग्गाको किनबेच हुने उक्त स्थानको जग्गाको मूल्य पनि अत्यधिक रहेको कार्यालयले जनाएको छ । मालपोत कार्यालयले सुनसरी इनरुवाले २०७५/७६ देखि हालसम्म सरकारी मूल्याङ्कन तोेकेको छैन् ।

यसले गर्दा चालु आर्थिक वर्षमा सो कार्यालयले १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको छ । त्यस्तै कार्यालयले यसअघि नै इटहरी उपमहानगरपालिकामा रहेको वडा नम्बर १ (क) महेन्द्र राजमार्गासँग जोडिएको तथा कोशी राजमार्गसँग जोडिएका जग्गाहरूको मूल्य प्रतिकठ्ठा १ करोड ३० लाख रुपैयाँ सरकारी मूल्यांकन गरेको थियो । उक्त जग्गाको मूल्यमा समायोजना भएमा प्रतिकठ्ठा करिब डेढ करोड पुग्ने विभागको दाबी छ ।

मालपोत कार्यालय इनरुवाले यसअघि नै १ करोड ३० लाख रुपैयाँ सरकारी मूल्याङ्कन गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षमा सो क्षेत्रको मूल्याङ्कन समायोजन भएमा बढ्न सक्ने विभागले जनाएको छ ।

कार्यालयले इटहरी महानगरपालिकामा रहेका जग्गाको मूल्य सडक र विकास पूर्वाधारको आधारमा २ लाखदेखि १ करोडसम्मको सरकारी मूल्याङ्कन गरेको पाइन्छ ।

त्यसैगरी देशभर सबैभन्दा बढी घरजग्गा किनबेच हुने दोस्रो स्थान हो बेलबारी मोरङ । बेलबारी मोरङले गत आवमा २६ हजार १ सय ५१ घरजग्गा किनबेच गरेको मालपोत कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा जग्गाको सरकारी मूल्याङ्कन तोेकेको छ ।

उक्त मालपोत कार्यालयले आफ्नो क्षेत्राधिकार रहेका जग्गाको मूल्याङ्कन न्यूनतम प्रतिकठ्ठा २ लाखदेखि अधिकतम ३२ लाख ५० हजार रुपैयाँ मूल्य तोकेको छ । जसमा कार्यालयले सडकको वर्ग अनुसारको पनि मूल्य तोकेको जनाएको छ ।


अरिष्मा मोक्तान