५ वर्ष बित्दापनि सूर्यविनायक-धुलिखेल सडक बिस्तार अन्योलमै



काठमाडौं । सुर्यविनायक-धुलिखेल सडक स्तरोन्नतीको काम अन्योलमा परेको छ ।

२०७४ मा अध्ययन सकेपछि जाइकाले सडक बिस्तारका लागि राखेको प्रस्तावमा लागत धेरै भएको भन्दै घटाउन तत्कालीन सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले वार्ता गरेका थिए । तर, जाइकाले लागत घटाउन नमानेपछि आयोजनाको जिम्मा सरकार आफैंले औपचारिकरुपमा लिएको थियो ।

जाइकाले गरेको अनुमानित लागत प्रस्तावमा जग्गाको मुआब्जा बाहेक २३ अर्ब रुपैयाँ थियो । जग्गाको मुआब्जासहित भने ४२ अर्ब रुपैयाँ खर्च हुने प्रस्तावमा उल्लेख छ ।

यसका लागि जाइका आफैंले ०.२ प्रतिशत ब्याजदरमा सहुलियत ऋणमा आयोजना निर्माणको प्रस्ताव गरेको थियो । तर, सरकारले जाइकाले गरेको प्रस्तावमा आयोजनाको लागत उच्च रहेको भन्दै आयोजनाको काम जाइकालाई नदिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए ।

विभागका उपमहानिर्देशक नेपालका अनुसार जाइकाले लागतमा लचिलो हुन नसक्ने बताएपछि सरकारले सुरुङमार्ग हटाएर भएपनि लागत घटाउन भनेको थियो । तर, जाइकाले सुरुङमार्ग राखेरै अध्ययन गरिसकेको भनेर अडान लियो ।

‘आयोजना बिस्तारको चाहना भएपनि सरकारको आयोजनालाई गर्ने व्यवहार सही नभएको तथा आवश्यक सहयोग नपाएको भन्दै सूर्यविनायक-धुलिखेल सडक बिस्तारमा जाइकाले सहभागी नहुने बताएको थियो,’ नेपालले भने ।

त्यसपछि अनौपचारिकरूपमा सरकार आफैंले सूर्यविनायक-धुलिखेल सडक बिस्तार अघि बढाउने निर्णय गरेको थियो । तर सरकारले यो आयोजना कसको मातहतमा गर्न दिने भन्ने कुराको अहिलेसम्म पनि टुंगो नलगाउँदा आयोजनाको काम शुरु हुन नसकेको नेपालको भनाइ छ ।
यस आयोजनामा जाइकासँग विगतमा कुरा हुँदा जडिबुटीमा ‘अन्डरपास’ वा फ्लाइओभर र सूर्यविनायक-धुलिखेल सडक बिस्तारको काम एकैपटक अघि बढाउने गरी छलफल भएको थियो ।

जाइकाले दुबै कुरामा चासो देखाएकाले धेरै पटक विभाग र मन्त्रालयसँग छलफलसमेत भइरहेको योजनाले बताउँदै आएको थियो ।

अझैसम्म कुरा कसरी अघि बढाउने भनी ठोस निर्णय भने नभइसकेको योजनाकी इञ्जिनियर गिताञ्जली कोइराला बताउँछिन् ।

‘अहिलेसम्म पनि कसले योजनाको जिम्मेवारी पाउने हो टुंगो लागेको छैन,’ कोइरालाले क्लिकमाण्डूसँग भनिन्, ‘यसको टुंगो तिहारपछि मात्रै लाग्छ ।’

भक्तपुर र काभ्रेपलाञ्चोक जोड्ने सो सडक अरनिको राजमार्गमा पर्छ । साथै, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्गलगायत सडकसमेत काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशमार्गका रुपमा रहेको छ । बागमती प्रदेशका विभिन्न जिल्ला र प्रदेश नं १ र २ बाट यही सडक भएर यात्रुहरु उपत्यका प्रवेश गर्छन् ।

सरकारले नयाँ राजमार्गको निर्माण र भइरहेका राजमार्गको बिस्तार गरिरहँदा सो सडकमा सवारी साधनको चाप बढिरहेको छ । सडक चाप जुनसुकै समयमा भए पनि अहिले साँझको समयमा मध्यम वा लामो दूरीका सवारी साधन राजधानी भित्रँदा घण्टौं जाम हुने गरेको छ ।

हरेक आवमा बजेट विनियोजन मात्र
आर्थिक वर्ष २०७७/७८ को बजेटमा सूर्यविनायक-धुलिखेल खण्डको स्तरोन्नति गर्न र कान्ति राजपथ निर्माणको काम पूरा गर्न १ अर्ब २० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको थियो ।

आव २०७६/७७ को बजेटमा भने उपत्यकाको विद्यमान सवारीचापलाई व्यवस्थापन गर्न सूर्यविनायक–धुलिखेल खण्डको स्तरोन्नतिका लागि बिस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने उल्लेख थियो ।

यस्तो छ जाइकाको प्रतिवेदन
जाइकाले गरेको अध्ययनमा सूर्यविनायक–धुलिखेल बिस्तार गरी सडक ६ लेनमा सवारीसाधनका लागि ४ लेन र दुई सर्भिस लेन बनाउने उल्लेख छ ।

त्यस्तै, साँगामा सुरुङमार्ग बनाउने प्रस्ताव छ । बिस्तार गर्नुपर्ने सडकको कुल लम्बाइ १४.९१ किलोमिटर र त्यसमा सुरुङको लम्बाइ १.२९ किलोमिटर रहनेछ ।

सुरुङभित्र दुई लेन र त्यसको चौडाइ साढे तीन मिटरको रहनेछ । कर लिने ठाउँ सुरुङको दुवैतर्फ एक–एक वटा लेन हुनेछन् ।

त्यस्तै, यस सडकको डिजाइन अनुसार अधिकतम गति ८० किलोमिटर हुनेछ भने साँगा क्षेत्रमा गति ६० किलोमिटर प्रतिघण्टा हुनेछ । ६ ठाउँमा आकासेपुल हुनेछन् भने ४ वटा पुल र एउटा कल्भर्ट निर्माण गरिने प्रतवेदनमा उल्लेख छ ।

‘सडक बिस्तार गर्ने काम जाइकाले जहाँ छोडेको थियो, अहिलेसम्म त्यही स्थानमा छ, थप कुनै काम भएको छैन,’ नेपालले भने, ‘फिल्डमा जाइकाले गरेको अध्ययनबाहेक कुनै प्रगति भएको छैन । अहिले सूर्यविनायक-धुलिखेल सडक बिस्तार स्थगित छ ।’

सूर्यविनायक-धुलिखेल खण्डको स्तरोन्नतिका लागि जाइकासँग पनि फेरी छलफल गरिने बताए ।

‘केही समयअघि नै जाइकाको टोली आउने तयारी थियो, अहिलेको परिस्थिति (कोभिड–१९) का कारण आउन सकेको छैन,’ नेपालले भने ।


क्लिकमान्डु