सरकारले कृषि तथा बाली बीमामा अनुदान दिएन, कम्पनी मारमा



काठमाडौं ।सरकारले कृषि तथा बाली बीमाको अनुदान रकम नदिँदा बीमा कम्पनीहरु मारमा परेका छन् । सरकारले गत पुस महिनादेखि अनुदान रकम उपलब्ध गराएको छैन ।

आफैले ल्याएको कार्यक्रमका लागि सरकार आफैले समयमा रकम निकासा नगर्दा कम्पनीहरु मारमा परेका हुन् ।

सरकारले समयमा नै अनुदान वापतको रकम निकासा नगर्दा पनि रकम पाउने आशामा बीमा कम्पनीहरुले बीमालेख जारी गर्न बाध्य भएकाछन् ।

बीमा ऐनमा बीमाशुल्क नलिई उधारो बीमालेख जारी गर्न नपाउने व्यवस्था छ । तर, त्यस्तो व्यवस्था रहेपनि कृषि तथा बाली बीमामा भने कम्पनीहरुले सरकारले रकम उपलब्ध गराउँछौं भन्दै उधारो बीमालेख जारी गर्दै आएका छन् ।

बीमा समितिका अनुसार गत आवको पुस महिनादेखि निर्जीवन बीमा कम्पनीहरुले सरकारबाट पाउने अनुदान रकम पाएका छैनन् ।

गत आर्थिक वर्षमा मात्रै सरकारले उक्त शीर्षकको अनुदान वापत कम्पानीहरुलाई ८१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आवको तीन महिनाको रकम माग गरे पनि समितिले चालु आवको रकम भने माग गरेको छैन । समितिले प्रत्येक तीन–तीन महिनामा सरकारसँग रकम माग गर्दै आएको छ ।

सरकारले समयमा नै रकम उपलब्ध नगराएता पनि कम्पनीहरुले बीमालेख भने जारी गर्दै आएका छन् । कम्पनीहरुले अनुदान रकम नपाए पनि पोलिसी जारीे गर्न बाध्य रहेको समितिको भनाइ छ । समितिको दबाबमा नै कम्पनीहरुले पोलिसी जारी गर्दै आएको समितिले बताएको छ ।

कम्पनीहरुले बीमालेख जारी गर्दिन भने पनि बीमा समितिको दबाबमा कम्पनीहरुले पोलिसी जारी गर्ने गरेको समितिका सुपरीवेक्षण, कृषि तथा लघुबीमा तथा पुर्नबीमा महाशाखाका निर्देशक सुशिल देव सुवेदीले बताए ।

‘कम्पनीहरु पोलिसी जारी गर्दिन भन्छन्, हामीले जबरजस्ती गरेको भएर मात्रै कम्पनीहरुले पोलिसी जारी गरेका छन्,’ उनले भने ।

अनुदान रकम निकासा गर्ने च्यानल नै धेरै भएका कारणले पनि बीमा कम्पनीहरुले समयमा नै रकम नपाउने गरेको उनले बताए ।

‘च्यानल नै धेरै भयो, अर्थबाट कृषि मन्त्रालय जान्छ, कृषि मन्त्रालयबाट कृषि विभाग जान्छ, कृषि विभागबाट समिति जान्छ,’ उनले भने । कम्पनीहरुले समयमा नै अनुदान नपाउनुमा प्रक्रिया नै ढिलो भएको उनको दाबी छ ।

सो अनुदान रकम उपलब्ध गराउनका लागि सक्दो पहल गरिरहेको समितिको तर्क छ । कृषि मन्त्रीलाई बिफ्रिङ गराउँदै आएको सुवेदीले बताए । यस्तो अवस्थामा सबैले सोच्नु पर्ने उनको बुझाइ छ ।

सरकारले लामो समयसम्म अनुदान रकम नदिँदा आफूहरुलाई अफ्ठ्यारो परेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समयमा नै सरकारले रकम नदिँदा दाबी भुक्तानी लगाएतका अन्य खालका समस्या उत्पन्न हुँदै आएको उनको तर्क छ ।

सरकारले समयमा नै रकम उपलब्ध नगराउँदा आफूहरुले बीमितहरुलाई दाबी पर्ने वित्तिकै तत्काल भुक्तानी गर्न नसक्ने, पुनर्बीमा कम्पनीहरुलाई पठाउनु पर्ने प्रिमियम समयमा नै पठाउन नसक्नु तथा कृषकहरुबाट मात्रै लिएको पैसाले उक्त रकम तिर्न पर्याप्त नहुनेलगायतका समस्या भोग्नु परेको उनले गुनासो गरे ।

सरकारले कृषि तथा बाली बीमामा दिने अनुदान रकम बढाउँदै आएको छ । अनुदानको प्रतिशत बढाएर सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासामा ढिलाइ गर्दा बीमा कम्पनीहरुले विभिन्न खालका समस्या भोग्दै आएका छन् ।

बीमा कम्पनीहरुले पोलिसी बिक्री गर्ने वित्तीकै अभिकर्तालाई अभिकर्ता कमिसन, पुनर्बीमा कमिसन वापतको रकम तिर्नुपर्ने हुन्छ । जसकारण कम्पनीमा थोरै मात्रै रकम बाँकी हुने र दाबी भुक्तानीमा समस्या देखिन्छ ।

नेपाल सरकारले यो कार्यक्रम लागू भएको वर्षदेखि नै अनुदान रकमको व्यवस्था गर्दै आएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमा गर्दा लाग्ने बीमाशुल्कमा ७५ प्रतिशत अनुदान रकम दिँदै आएको थियो । चालु आर्थिक वर्षमा उक्त अनुदानलाई थप गर्दै ८० प्रतिशत पुर्याईएको छ ।


क्लिकमान्डु