स्पञ्ज आइरन प्रोत्साहन नीतिले पनि रोकिएन एमएस विलेटको आयात, असोजमा मात्रै ११ अर्बको आयात



काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमार्फत् स्वदेशी डण्डी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएसँगै उद्योगीहरु विभाजित भए । विभाजित उद्योगीहरुले सरकारको नीतिको स्वागत र विरोध खुलेरै गरे ।

विरोध गर्ने उद्यागीहरु अब डण्डी उद्योगहरु बन्द हुने भन्दै सरकारसँग नीतिमा पुर्नविचार गर्नका लागि पटक-पटक आग्रह समेत गरे । तर, अर्थमन्त्रीहरुले उनीहरुको कुरा सुन्दै सुनेनन् ।

उनीहरुको तर्क थियो, ‘नीति सही भए पनि कम्तीमा २ वर्षको समय दिनु पर्ने थियो, तर अहिलेको नीतिगत व्यवस्थाले कच्चा पदार्थ आयात गर्ने उद्योगहरु बन्द गर्नुको विकल्प छैन ।’

उक्त नीतिका विषयमा बिलेट आयात गरेर डण्डी बनाउने र स्पञ्च आइरन आयात गरेर बिलेट बनाएर डण्डी उत्पादन गर्ने उद्योगीबीच फरक मत स्पष्टसँग देखियो ।

बिलेट आयात गरेर डण्डी बनाउने उद्योगीले सरकारको नीतिपछि उद्योग पूर्ण रुपमा बन्द हुने तथा बिलेट आयात नै रोकिएको बताएका थिए ।
तर, तथ्यांकले भने उद्योग बन्द भएको देखाउँदैन । भन्सारको तथ्यांक हेर्दा न त बिलेट आयात रोकिएको छ न त उद्योग सञ्चालन नै बन्द भएका छन् । बरु पहिले जस्तै गरी निरन्तर उद्योगहरु चलिरहेकै छन् ।

यसले बिलेट आयात गरेर डण्डी बनाउने उद्योगीले सरकारलाई भ्रममा पार्न खोजेको देखिएको छ । बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगहरु कुनैपनि बन्द नभएको र बिलेट आयात दर बढाएपनि रोकिएको अवस्था छैन ।

प्रतिस्थापनमार्फत् ल्याएको बजेटले स्पञ्च आइरनको भन्सार महशुल घटाएर विलेटको आयातमा अन्तशुल्क बढाएको थियो । जसले गर्दा स्वदेशी बिलेट उत्पादन गर्ने उद्योगीलाई प्रोत्साहन हुने नीति सरकारको छ ।

तर, उद्योगीहरूले आयात रोकिने जनाएपनि आयात भने रोकिएको छैन ।

आयातमै भर परेको देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्ले आयातमै भर परेको स्पष्ट देखिन्छ ।

सरकारको बजेटले स्पञ्ज आइरन आयातमा महशुल हटाएर विलेट उद्योगमा प्रोत्साहन गर्ने नीति ल्याए पनि नेपालले असोज महिनामा मात्रै ११ अर्ब ४९ करोड ५३ लाख मूल्य बराबरको १२ करोड १७ लाख १४ हजार किलो एमएस विलेट आयात गरेको छ । उक्त आयातित एमएस विलेटबाट नेपालले २ अर्ब २५ करोड ७९ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

साथै, चालु आवको तीन महिनाको अवधिमा नेपालले ३७ अर्ब २० करोड ७२ लाख मूल्य बराबरको ४३ करोड २१ लाख २२ हजार केजी एमएस विलेट आयात गरेको छ । सो अवधिमा नेपालले ७ अर्ब ५ करोड ४८ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

सरकारले बिलेट उद्योगलाई प्रोत्साहन गरेपछि स्पन्च आइरनको आयातपनि बढ्न थालेको छ । त्यसैगरी, नेपालले असोजमा मात्रै १ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ६१ हजार केजी स्पञ्ज आइरन आयात गरेकोे छ । जुन विगतको दिनमा आयात भएको जतिनै आयात भएको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित स्पञ्ज आइरनबाट २४ करोड ९४ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

त्यसैगरी, चालु आवको ३ महिनामा नेपालले ४ अर्ब ४० करोड ४६ लाख मूल्य बराबरको ७ करोड ८७ लाख ८७४ हजार केजी आयात भएको छ । जसमा तीन महिनाको अवधिमा सो आयातित स्पञ्ज आइरनबाट नेपालले ७० करोड ७६ लाख रुपैयाँ राजश्व महशुल संकलन गरेको छ ।
नेपालले अधिकांश विलेट भारत, चीनबाट र ताइवानबाट आयात गर्दछ । साथै, मलेसियाबाट पनि आयात गर्दै आएको छ ।


क्लिकमान्डु