भदौ महिनाको मुद्रास्फीति ३.४९ प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२२ प्रतिशत रहेको छ ।

२०७७ भदौको तुलनामा २०७८ भदौमा घ्यू तथा तेल, माछामासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २८.९१ प्रतिशत, १०.६६ प्रतिशत, १०.२५ प्रतिशत, ९.९९ प्रतिशत र ९.९२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमालमा ३.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ भदौमा यी क्षेत्रहरुमा क्रमशः ३.६६ प्रतिशत, ४.७१ प्रतिशत, ४.७३ प्रतिशत र ४.५१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.८० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मूल्य ०.७३ प्रतिशतले घटेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.९४ प्रतिशत र ६.२१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०३ प्रतिशत रहेको छ ।

२०७८ भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ४.८४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.२० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.५२ प्रतिशतले बढेको छ ।

२०७८ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ३.४९ प्रतिशत र सन् २०२१ सेप्टेम्बरमा भारतमा ४.३५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु