चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति



काठमाडौं । कुलिङ पिरियड नसकिदै नसकिदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

नेपाल इन्स्योरेन्सले चोरबाटो प्रयोग गर्दै महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको हो । महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सीइओ थिए । प्रुडेन्सियलबाट राजीनामा दिएको ६ महिना नपुग्दै नेपाल इन्स्योरेन्सले महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको हो ।

बीमा समितिद्धारा बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीईओ बन्न नपाउने व्यवस्था छ ।


नियामक निकाय बीमा समितिद्धारा जारी कानूनले ६ महिनाको कुलिङ पिरियड तोके पनि महर्जन नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कुलिङ पिरियड सकिए लगत्तै महर्जनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरि हालको लागि उनलाई उक्त पदको जिम्मेवारी दिईएको हो ।

कम्पनीको कात्तिक ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले महर्जनलाई कात्तिक ७ गते आईतबार (आज) देखि लागू हुने गरि उक्त पदमा नियुक्त गरिएको कम्पनी सचिव चन्द्रनाथ उपे्रतीले जानकारी दिए । महर्जन आगामी चार वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । साथै, कम्पनीले आजैदेखि उनलाई कामु सीईओको जिम्मेवारी समेत दिने निर्णय भएको कम्पनी सचिव उप्रेतीले बताए ।

महर्जनले कार्यकाल सकिन दुई महिना बाँकी छँदा नै असोज महिनामा आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका थिए ।

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल सकिए पछि नेपाल इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत विहीन छ ।


क्लिकमान्डु