गल्छी-रसुवागढी सडकः चिनियाँ पक्षले गर्ने तेस्रो खण्डको काम अझै शुरु भएन



काठमाडौं । चीनसँगको अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी र राजधानी जोड्ने छोटो दुरीको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको हालसम्ममा जम्मा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।

५ वर्षअघि सडक निर्माणसहित मर्मतको काम शुरु गरिएको यो सडकको हालसम्म ४४ प्रतिशत काम सम्पन्न भएको सडक विभाग योजना तथा मूल्याङकन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए ।

२० अर्बको लागतमा स्तरोन्नति हुने गल्छीदेखि स्याफ्रुबेसीसम्मको सडकको हालसम्म ९ अर्ब रुपैयाँ खर्च भइसकेको जनाइएको छ । जसमा २४७.५७ करोड मात्रै मुआब्जा र क्ष्तिपुर्तिमा खर्च भएको आयोजनाले बताएको छ । अरु बाँकी रकम निर्माण कार्यमा खर्च भएको आयोजनाकोे भनाइ छ ।

२०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाललाई नराम्रो असर पारेको थियो । भारतको एकाधिकार व्यापार हटाउन उत्तर चीनसँग पनि व्यापार बढाउन तत्कालीन मन्त्रीपरिषदले गल्छी-त्रिशुली-मैलुङ–रसुवागढी सडक स्तरोन्नति गर्ने निर्णय गरेको थियो । हाल त्यस नाकाबाट नेपालले चीनसंग व्यापार गरिरहेको देखिन्छ ।

तातोपानी नाका पहिरो र भूकम्भका कारण करीब ६ वर्ष संचालन हुन सकेको थिएन । सरकारले गत भदौदेखि तातोपानी नाका संचालनमा ल्याएको हो । यो नाका संचालन नहुँदा रसुवागढी नाकाबाट नेपालले चीनसंग व्यापार गरेको थियो अहिले पनि गरिरहेको नेपालले बताए ।

२०७२ देखि २०७८ सम्म ५ वर्षसम्ममा गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडक स्तरोन्नति गर्ने भनिएको थियो । तर, सडक स्तरोन्नतिको काम सम्पन्न हुने लक्ष्यको समय सकिन लागेको छ । त्यसैले समयमै काम सम्पन्न नहुने देखिएपछि असार २०८० सम्ममा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरि संशोेधन भएको नेपालले बताए ।

दुई वर्षमा स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य रहेपनि जग्गा मूअब्जाको विवाद लगायतका कारण सडक निर्माणको कामले गति लिन नसकेको नेपालको भनाइ छ ।

हालसम्म समग्र हेर्ने हो भने ४४ प्रतिशतमात्र काम सम्पन्न भएको उनले बताए । नेपालकाअनुसार हालसम्म ६५ किलोमिटरमध्ये १९.३९ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको छ ।

‘लगभग ४० किलोमिटर कालोपत्रेको काम अझै बाँकी छ,’ उनले भने ।

त्यसैगरी, ३२ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा पक्की पुल निर्माणको अन्तिम चरणमा छ । २६ वटा पक्की पुल निर्माण गर्न बाँकी छ ।

नेपालकाअनुसार फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन भएको छ । हाल ३ वटा पहिरोको ठेक्कासमेत भइसकेको नेपालले जानकारी दिएका छन् ।

बाँकी रहेका समस्या

‘रकसेट निर्माण, नेटआर्ट निर्माण, फुटपाथ निर्माण अझै बाँकी रहेको छ,’ उनले भने, ‘पहिरो रोकथामका कार्यहरू गर्न अझै बाँकी रहेको छ ।’

२ हजार ५ सय कित्ता जग्गा अधिग्रहण गर्नुपर्नेमा करिब १ हजार ६ सय कित्ता जग्गा अधिग्रहण गरिएको गल्छी त्रिशुली रसुवागढी सडक योजनाले जनाएको छ ।

नेपालकाअनुसार स्थानीय प्रशासनले तीन महिनाभित्रमा अधिग्रहणको जग्गा प्राप्त गरिसक्ने भनेको थियो । जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले जग्गा प्राप्त गर्न सक्नेछ ।

जग्गा प्राप्त गर्न तीन महिनामा सक्ने गरि धादिङ, नुवाकोट र रसुवाका सिडियोलाई निर्देशन पनि दिइएको थियो । तर, तत्कालीन सिडियोहरूले जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ नलगाई दफा १३ अनुसार साधारण जग्गा प्राप्ति ऐन लगाउँदा कामले गति लिन नसकेको आयोजनाको भनाइ छ ।

‘जनताले पैसा पाएपछि जग्गा दिने सबै प्रक्रिया पुर्याएर काम गर्दा कामले गति लिन सकेन,’ नेपालले भने ।

यता बिजुलीका पोलहरू समयमा नसार्नु, अदालतको अन्तरिम आदेशका कारण कामले गति लिन नसकेको उनको भनाइ छ । अदालतको स्टे अडरका कारण अझै पनि ६ किलोमिटरमा काम गर्न नपाएको उनले बताए ।

नेपालकाअनुसार कोरोना महामारी, वर्षायामका कारण, रसुवा–नुवाकोटको भौगोलिक अवस्था कमजोर भई पहिरो जानु लगायतका कारण पनि कामले गति लिन नसकेको हो ।

गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नतिको काम गर्नका लागि तीन खण्डमा विभाजन गरेर काम भइरहेको आयोजनाले बताएको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङ, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेशी र तेस्रो खण्ड स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको रहेको छ ।

‘हालसम्म पहिलो खण्ड अन्तर्गत ७० प्रतिशत काम सम्पन्न भएकोे छ । दोस्रो खण्ड अन्तर्गत २० प्रतिशत काम सम्पन्न भएको छ,’ नेपालले भने, ‘तेस्रो खण्ड अन्तर्गत अझै काम सुरु हुन सकेको छैन ।’

तेस्रो खण्ड चीन सरकारको सहयोगमा

तेस्रो खण्ड चीन सरकारको सहयोगमा चिनियाँ पक्षले नै सडक निर्माण गरिदिने आयोजनाले बताएको छ । तर, चिनियाँ पक्षले हालसम्म काम सुरु गरेको छैन । नेपाली पक्षले घर टहरा, बिजुलीका पोल सार्नेलगायतका सबै प्रक्रिया पूरा गरेपछि मात्र काम अघि बढाउने चिनियाँ पक्षले बताउँदै आइरहेको छ ।

नेपाली पक्षले बिजुलीका पोलहरू सार्ने काम सम्पन्न गरिसकेको छ । तर, चिनियाँ पक्ष निर्माण स्थलमा अहिले नआएको नेपाल बताउँछन् । उपमहानिर्देशक नेपालकाअनुसार नेपाली पक्षले गर्ने काम हेर्ने हो भने ६० प्रतिशत काम भइसकेको छ ।

चीनसँगको अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपालको राजधानी जोड्ने सबैभन्दा छोटो दूरीको हुने गरि सडक स्तरोन्नतिको काम भएको नेपालले बताए ।

यो सडक एसियाली मापदण्ड अनुरुपको रहेकोे समेत उनले बताए ।

‘यस सडकको चौडाइ ११ मिटरको छ, यो सडकको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ,’ उनले भने, ‘सडक सीमा ३० मिटरको छ ।’


क्लिकमान्डु