देउवा सरकारका अर्बपति मन्त्री किसान श्रेष्ठ, कहाँ कति सम्पत्ति छ ?




काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।     

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख छ । काठमाडौँ महानगरपालिका-९ मा कित्ता नम्बर ११४, ०-८-०-० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।    

त्यस्तै काठमाडौँ-३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ-१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०-८-३-३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।    



उनले आफ्नो दुई घर रहेको सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिका-३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाए । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् । दुई करोड १७ लाख २४ हजार ४०० रूपैयाँ मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।    

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार रूपैयाँ मूल्य बराबरको लगानी गरेको उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ ।    

गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन् । उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाए ।     

उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको बताए । त्यस्तै श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् ।


क्लिकमान्डु