४२ वर्षअघि २ हजार रुपैयाँ बोकेर काठमाडौं आएका उमेश श्रेष्ठ यसरी बने २० अर्बको मालिक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद समेत हुन् ।

भोजपुरमा जन्मिएका श्रेष्ठ ४२ वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बोकेर राजधानी छिरेका उनी हाल २० अर्ब रुपैयाँको मालिक बनेका छन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।

श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए ।

प्राइम बैंकको सबैभन्दा ठूलो सेयरधनी उमेश श्रेष्ठ हुन् । १६ अर्ब चुक्ता पूँजी रहेको प्राइम बैंकमा उमेश श्रेष्ठले ३.१० प्रतिशत सेयर छ । यो भनेको ४९ लाख ८५ हजार ४३५ कित्ता सेयर हो ।

आइतबार प्राइम बैंकको सेयर मूल्य ५२९ रुपैयाँमा कारोबार भएको छ । यस आधारमा उमेश श्रेष्ठको नाममा रहेको सेयर हेर्दा प्राइम बैंकमा मात्रको उनको सम्पत्ति २ अर्ब ६३ करोड रुपैयाँ हुन्छ । संस्थापक र साधारण सेयरको मूल्य फरक हुँदा रकम भने फरक पर्छ । तर २ अर्बभन्दा बढीको सम्पत्ति उमेश श्रेष्ठको प्राइम बैंकमा मात्र छ । वार्षिक १५ करोडभन्दा बढी रकमको प्रतिफल उमेश श्रेष्ठले लगानी गरेका संस्थामा प्राइम बैंकबाट पाउने अवस्था छ ।

श्रेष्ठले ललितपुरको लिटिल एञ्जल्ससँगै विभिन्न विद्यालय र कलेजमा पनि लगानी गरेका छन् ।

श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् भने धुलिखेलमा हालै निर्माण भइ सञ्चालनमा आएको हिमालयन दृश्य रिसोर्टमा पनि लगानी गरेका छन् ।

त्यसैगरी तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालिमा लगानी बिस्तार गरेका छन् भने पोखरामा उनको लगानीमा नयाँ होटल निर्माण हुँदैछ । त्यसबाहेक उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् । दुबै अस्पताललाई अत्याधुनिक अस्पताल बनाउने उनको योजना छ ।

महेन्द्र नारायाण निधी अस्पताल ट्रस्टीहरुको लगानीमा सञ्चालनमा आएको हो । जसमा १ हजार जना ट्रस्टी छन् भने उनीहरुले २ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लगानी गरेका छन् । उनको लगानीमा एकान्तकुनामा हेलोइस अस्पताल पनि छ । जुन अस्पताल उच्च आय भएका वर्गका लागि लक्षित छ ।

अविवाहित श्रेष्ठले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना समेत बनाएका छन् ।


क्लिकमान्डु