कोरोना कहरमै महानगरले खर्चियो भत्तावापत ९ करोड, सवारी मर्मतमा ३ करोड



काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउन र निषेधाज्ञाको समयमै काठमाडौं महानगरपालिकाले करोडौंको रकम भत्तावापत खर्च गरेको छ । काठमाडौं महानगरपालिकाले गत वर्ष ९ करोड २९ लाख ६३ हजार रुपैयाँ भत्तावापत खर्च गरेको हो ।

महानगरपालिकाले महँगी भत्ता बापत ४ करोड १३ लाख ३६ हजार, फिल्ड भत्तावापत १६ लाख ८३ हजार, कर्मचारी बैठक भत्तावापत ४० लाख २३ हजार, अन्य भत्तावापत ३ करोड १ लाख ७७ हजार खर्च गरेको छ । साथै, पदाधिकारी बैठक भत्तावापत १ करोड ३१ लाख ९० हजार र पदाधिकारी अन्य भत्तावापत २५ लाख ९४ हजार खर्च गरेको उल्लेख गरेको छ ।

उक्त शिर्षकहरूमा महानगरले छुट्टाइएको रकमबाट ९ प्रतिशतदेखि ९६ प्रतिशतसम्म खर्च गरेको महानगरले गरेको खर्च विवरणको तथ्याङ्कले देखाउँदछ । महानगरले सबैभन्दा कम पदाधिकारी अन्य भत्तामार्फत् गरेका छन् । महानगरले २ करोड ६० लाख २० हजार रुपैयाँ छुट्टाइएकोमा २५ लाख ५४ हजार मात्रै खर्च गरेका छन् ।

समग्रमा महानगरकोे छुट्टाइएको बजेट हेर्दा करिब ५० प्रतिशत पनि खर्च नभएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा सरकारले महानगरपालिकाका लागि १५ अर्ब ५६ करोड १५ लाख १४ हजार रुपैयाँ बजेट छुट्टाइएकोमा ५ अर्ब ७१ करोड २७ लाख २५ हजार रुपैयाँ मात्रै खर्च भएको छ । जुन छुट्टाइएको बजेटको ३५.७१ प्रतिशत हो । महानगरपालिकाले दिएको विवरण अनुसार गत वर्षको कजेटबाट ९ अर्ब ८४ करोड ८७ लाख ८८ हजार रुपैयाँ मौज्दात रहेको जनाएको छ ।

इन्धनमा साढे ८ करोड बढी खर्च

महानगरपालिकाले गत वर्ष साढे ८ करोड बढी रकम इन्धनमा खर्च गरेको पाइएको छ । कोरोना महामारी र निषेधाज्ञाले कार्यमा निकै प्रभाव परेको अवस्थामा पनि अत्यधिक इन्धनको खर्च भएको देखिन्छ । गत वर्ष महानगरले छुट्टाइएको बजेटबाट ८ करोड ७९ लाख ५३ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ । जसमा पदाधिकारीका लागि १ लाख ५० हजार बजेट छुट्टाइएकोमा १ लाख ४१ हजार र कार्यालय प्रयोजनका लागि ९ करोड ५० लाख रुपैयाँ कजेट विनियोजन गरेकोमा ८ करोड ७८ लाख १२ हजार रुपैयाँ खर्च भएको पाइएको छ ।

महानगले अत्यावश्यक खर्चमा आनाकानी गरेको अवस्थामा भत्ता, इन्धन र भ्रमणमा बढी खर्च गरेको देखिन्छ । कोरोनाकै समयमा पनि महानगरपालिकाले ६७ लाख ६० हजार भ्रमणमा खर्च गरेको छ । साथै विविधमा २ करोड ४५ लाख ८ हजार खर्च भएको तथ्याङ्कले देखाउँदछ ।

खानेपानी संरचना निर्माणमा १३ प्रतिशतमा मात्रै खर्च

काठमाडौं महानगरपालिकाका लागि अत्यवश्यक विकास निर्माण कार्यमा भने महानगरले खर्च गर्न आनाकानी गरेको देखिन्छ । महानगरले खानेपानी संरचना निर्माणमा विनियोजित बजेटबाट १३.८४ प्रतिशत मात्रै खर्च गरेको छ । महानगले उक्त क्षेत्रको लागि ५ करोड ३२ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेकोमा ७३ लाख ७६ हजार मात्रै खर्च गरेको छ । जुन निकै कमजोर अवस्थामा निर्माण कार्य अगाडि बढाइएको स्पष्ट पार्दछ ।

त्यसैगरी, सडक तथा पुल निर्माण कार्यमा ८७ करोड ७१ लाख २९ हजार रुपैयाँ खर्च गरेको छ । उक्त खर्च विनियोजित बजेटबाट ३८.५८ प्रतिशत खर्च गरेको पाइएको छ ।

महानगरले विद्युत संरचना निर्माणमा २ करोड ६४ लाख ८९ हजार खर्च गरेको छ भने वन तथा वातावरण संरक्षणमा १३ करोड १४ लाख ५३ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ । साथै, महानगरले सरसफाई संरचना निर्माण कार्यमा ९ करोड ५५ लाख ४० हजार रुपैयाँ, अन्य सार्वजनिक निर्माणमा ७० करोड ९२ लाख ९७ हजार रुपैयाँ खर्च गरेका छन् । उक्त खर्च भनेको विनियोजित बजेटको २१.६६ प्रतिशत हो ।

यी शीर्षकमा खर्च नै भएन

महानगरको विवरणअनुसार विभिन्न शीर्षकमा छुट्टाइएको बजेटनै खर्च नभएको देखाउँदछ । महानगरले पशुपंक्षीहरुको आहावापत विनियोजन गरेको रकम खर्च गरेको छैन । गत वर्ष सो शीर्षकमा महानगरले २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

त्यसैगरी, वैदेशिक ऋणको ब्याज अन्तर्गत महानगरले ९ लाख २ करोड ९० लाख, गैर वित्तिय संस्थानहरूलाई पुँजीगत सहयता अन्तर्गत ९ लाख ५० हजार, निवृत्तिभरण तथा अशक्त वृत्ति अन्तर्गतको ३ करोड, अन्य भाडाको १ लाखभैपरी आउने चालू खर्च अन्तर्गतको २ लाख, पूँजीगत सुधार खर्च सार्वजनिकक निर्माणको १० लाख, जग्गा प्राप्ति खर्च ५० लाख, भैपरी आउने पूँजीगत १ अर्ब ४१ करोड ७२ लाख ८७ हजार रुपैयाँ र संस्थानमा शेयर लगानीका लागि १० करोड रुपैयाँ विनियोजन गरेको बजेटमा कुनै पनि खर्च नभएको विवरणले उल्लेख गरेको छ ।


क्लिकमान्डु