अनलाइनले घटायो बसपार्कको लाइन, भरपर्दो र सहज हुँदा बसको स्मार्ट टिकट काट्ने बढे



काठमाडौं । प्रत्येक वर्ष दशैंका लागि अग्रिम टिकट काट्नका लागि बसपार्कमा लाग्ने लामो लाइन यसपाली त्यत्ति देखिएन । विगतका वर्षमा विहानैदेखि ठेलमठेल गर्दै लाइनमा घण्टौ उभिएर अग्रिम टिकट काट्नेहरु यतिबेला अनलाइनबाट स्मार्ट तरिका अपनाउन थालेका छन् ।

कोरोना महामारीका कारण घर जाने संख्या घटे पनि यसको मुख्य कारण अनलाइनबाट टिकट काट्ने सहजताका कारण भएको हो । इसेवा लगायतका बालेटबाट एकै क्लिकको भरमा छानी छानी टिकट काट्न पाएपछि बसपार्क गइराख्नु पर्ने झण्झट नहुँदा अहिले अनलाइनबाटै टिकट काट्ने बढेको बससेवाका सीइओ पीआर खनालको भनाइ छ ।

बसपार्क गइरहनु नपर्ने, मन पर्ने बसको सिट आफैले हेरेर काट्न पाइने र मोबाइलमा एसएमएस देखाए मात्रै पुग्ने भएपछि अहिले धेरै यात्रुहरुले अनलाइनबाट टिकट काट्न थालेको उनको भनाइ छ ।

हाल बससेवाबाट देशभर १५० वटा गन्तव्यका लागि अनलाइनबाट टिकट काट्न सकिन्छ । खनालका अनुसार दैनिक ५०० वटा बसको टिकट काट्न सकिन्छ । साथै पछिल्लो समय वालेटका प्रयोगकर्ता बढेसँगै यसको सकारात्मक प्रभाव अनलाइनबाट टिकट काट्नेमा देखिएको छ ।

हाल बससेवाको टिकट इसेवा, खल्ती, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पेलगायतका वालेटका साथै मोबाइल बैंकिङबाट समेत काट्न सकिने खनालको भनाइ छ ।

खनालका अनुसार दशैंका लागि अग्रिम टिकट काट्ने ३० हजारमध्ये ६ हजारभन्दा बढीले बससेवाबाट मात्रै टिकट काटेका छन् । प्रतिशतका हिसाबले हेर्दा २० प्रतिशतभन्दा बढीले अनलाइनबाट टिकट काटेका छन् ।

मोबाइलमा एपबाट सहज ढंगले गन्तव्य छनोट गरी एकै क्लिकमा भरमा भरपर्दो र सहज तरिकाले टिकट काट्न थालेपछि यसले यात्रु तथा बस व्यवसायीलाई पनि सहज भएको छ । बस व्यवसायीहरु पनि अनलाइनबाट सहज ढंगले टिकट बिक्री हुन थालेपछि यसैमा रमाउन थालेका छन् ।

खनालका अनुसार काठमाडौंदेखि विशेष गरी बिराटनगर, बुटवल–भैरहवा, चितवन, नेपालगञ्ज तथा पोखराका लागि बढी टिकट बिक्री हुँदै आएको छ ।


क्लिकमान्डु