‘भित्रि कारोबार’ गर्दा अमेरिकामा गुप्तालाई डेढ अर्ब जरिवाना र जेल, ढुंगानालाई के होला ?
काठमाडौं । एक सिमेन्ट कम्पनीको सेयरमा भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले हालैमात्र पदबाट बर्खास्त गर्यो ।
अर्थमन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा मन्त्रिपरिषदले ढुंगानालाई वर्खास्त गरेको हो ।
छोरी रेविका ढुंगानाको नाममा १० हजार कित्ता सेयर खरिद तथा विभिन्न कम्पनीमाथिको कारवाहीमा जोडिएको अदृश्य कारोबारका कारण ढुंगानाले हुँदाखाँदाको नियामक निकायको प्रमुखको पदबाट हात धुनुपर्यो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगानालाई नपुग्दो केही थिएन । तर, लोभले लाभ लाभले विलाप भने जस्तै भयो । बिहे गरिसकेकी छोरीको नाममा भन्दै उनले खरिद गरेको सेयर तथा अदृश्यरुपमा आर्थिक लाभका लागि ५१ कम्पनीमाथि गरिएको कारवाही उनकै लागि ‘व्याक फायर’ भयो ।
नियामक निकायको रुपमा रहेको बोर्डको अध्यक्षबाट नै हट्नुपर्ने विडम्बनापूर्ण कालो इतिहास उनको नाममा लेखिन पुगेको छ ।
क्लिकमाण्डूसँगको अन्तर्वार्तामा उनले छोरीलाई सेयर किन्न आफूले १० लाख रुपैयाँ सापटी दिएको खुलासा गरेका थिए ।
नेपाली समाजमा एउटा उखान असाध्यै लोकप्रिय छ- अति गर्नु अतिचार नगर्नु । पैसा कमाउने लोभमा अतिचार नै गरेका ढुंगाना नेपालको सेयर बजारको इतिहासमा एउटा खराब पात्रको रुपमा स्थापित भए । किनकी, राष्ट्र बैंकको जागिरे जीवनमा उठेका नकारात्मक प्रश्नलाई पनि गलत सावित गर्ने अवसर उनले गुमाए ।
खासमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न चाहेका थिएनन् । तर, ढुंगानाले आफू राष्ट्रपतिको मान्छे भएको दावी गरे । सोही दावीका आधारमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई बोर्ड अध्यक्ष बनाएको चर्चा आज पनि छ, हिँजो पनि थियो ।
ढुंगानाको जस्तै प्रकरण एक भारतीय मूलका अमेरिकी नागरिक रजत गुप्ता पनि जोडिएका थिए । गुप्ता कसरी इन्साइडर टे«डिङमा जोडिएका थिए भनेर यो समाग्रीमा विस्तृतमा उल्लेख गर्ने प्रयास गरेका छौं ।
को हुन् गुप्ता ?
अमेरिकी कर्पोरेट क्षेत्रमा असाध्यै उच्च शिखरमा पुग्ने थोरै भारतीय नागरिक मध्येका एक थिए गुप्ता । इन्साइडर टे«डिङ प्रकरणमा जोडिएका कारण उनले कमाएको नाम र दाम दुबै धरापमा पर्यो । कोलकत्ताको माणकतलाको एक मध्यमवर्गीय परिवारमा जन्मिएका गुप्ताले आफ्नो प्रतिभाका कारण असाध्यै ठूलो सफलता पाए ।
गुप्ताका पिता भारतको स्वतन्त्रता संग्रामका सेनानी तथा पत्रकारसमेत थिए । उनको आमा स्थानीय एक विद्यालयको शिक्षिका थिइन् । तर, उनले आफ्नो परिवारको साथमा लामो समय बिताउन भने पाएनन् । गुप्ता जब १८ वर्षमात्रै पुगेका थिए । उनका माता–पिताको अचानक मृत्यु भयो ।
गुप्ताको विद्यालय पढ्ने उमेरमा असाध्यै राम्रा विद्यार्थीका रुपमा गनिन्थे । उनले सन् १९६६ मा आइआइटीको प्रवेश परीक्षामा १५औं स्थान हासिल गरेका थिए ।
आइआइटीमा स्नातक गर्नासाथ अगाडिको पढाइका लागि उनी अमेरिका गए । अमेरिकाको हार्वड विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्दा समेत समेत उनले आफनो कक्षामा पहिलो स्थान हासिल गरे । पढाइमा पहिलो स्थान हासिल गरेकै कारण उनको आगामी दिनहरु थप सफल एवं नामी बन्दै गयो ।
पढाई पूरा गर्नसाथ उनले १९७३ मा परामर्शदाता कम्पनी म्याकिजीको न्यूयोर्क शाखामा जागिर शुरु गरे । जागिर शुरु गरेको २० वर्षभित्रै उनी सोही कम्पनीको सर्वोच्च पदमा पुगे । सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने भारतीय मूलको मूलको पहिलो व्यक्ति बने उनी ।
गुप्ता प्रक्टर एण्ड ग्याम्बेल जस्ता कम्पनीको सञ्चालक समिति सदस्यका अलावा संयुक्त राष्ट्र संघको विशेष सल्लाहकारको रुपमा समेत सेवा गर्ने मौका पाए । अमेरिकन एयरलाइन्सको माउ कम्पनी एएमआर कर्पोरेशनको निर्देशको पदमा समेत रजत गुप्ताले काम गरे ।
गुप्ताले अमेरिकामा सबैभन्दा ठूलो इन्साइडर ट्रेडिङको मामिलामा सजाय सुनाइयो । उनले ग्यालियन हेज फण्डको संस्थापक राज राजारत्नमको कारोबारमा जोडिएका कयौं गोप्य सूचनामा सन्देहात्मक काम गरेको अभियोगमा दोषी ठहर गरियो ।
गोल्डमेन साक्स र प्रक्टर एण्ड ग्लोबलको सञ्चालक समितिमा रहेर उनले हेज फण्डका म्यानेजर रहेका राज राजारत्नमलाई गोपनीय सूचना चुहाएको विषयमा दोषी ठहर गरिएको थियो ।
तर, उनले आफूमाथि लागेको आरोपको सँधै अस्वीकार गर्दै आएका छन् । उनलाई बचाउनका लागि केही भारतीय व्यापारीका साथमा अमेरिकी अधिकारीले समेत प्रयास गरेका थिए ।
म्याकेजीका पूर्वअधिकारी अतुल कानागतले गुप्ताको सर्मथनमा एक वेवसाइट नै शुरु गरेका थिए । त्यसमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश आम्बानी तथा गोदरेज समूहका अध्यक्ष आदि गोदरेजसहित कयौं उद्योगपतिले उनको सामर्थनमा लेख लेखेका थिए ।
कर्पोरेट क्षेत्रको उचाइमा पुग्न झण्डै ४० वर्षभन्दा बढी समय लगाएका गुप्ताले आफनो छवी धुमिल बनाउन एक वर्ष नै काफी भयो । सन् २०११ मा उनले अमेरिकी खुफिया एजेन्सी एफबीआई समक्ष आत्मसर्मपण गरेका थिए । आत्मसमर्पण गरेपछि उनलाई इन्साइडर टे«डिङको अभियोगमा दोषी करार गरिएको थियो ।
१ अर्ब ३९ करोड अमेरिकी डलर जरिवाना
गुप्तालाई अमेरिकी प्रशासनले १ अर्ब ३९ करोड अमेरिकी डलर अर्थात् डेढ खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना तोकेको थियो । अमेरिकी नियामक निकाय एसइसीले त्यसअघि त्यहाँको जिल्ला अदालतले गरेको फैसला सदर गर्दै माथिल्लो अदालतले गुप्तालाई दोषी ठहर गरेको थियो ।
गोल्डम्यान साक्सका पूर्वनिर्देशक गुप्तालाई जरिवाना तोक्दै जीवनभर कुनै पनि सार्वजनिक कम्पनीको निर्देशन बन्न समेत नपाउने गरी रोक लगाएको थियो ।
उनलाई ब्रोकर, डिलर तथा लगानी सल्लाहकारको रुपमा कुनै पनि प्रकारको सम्बन्ध राख्ने र त्यससम्बन्धी काम गर्न समेत पूर्ण प्रतिबन्ध लागेको थियो ।
हेज फण्डका प्रबन्धक राज राजारत्नमले गुप्तासँग सूचना लिएकै आधारमा ४६ लाख अमेरिकी डलर बराबरको लाभ हासिल गरेका थिए । उनलाई सोही लाभको आधारमा ३ गुणा बढी जरिवाना तिर्नुपर्ने फैसला गरिएको थियो ।
जेलमा बस्दा किताब लेखे
गुप्तालाई १९ महिनासम्म जेलमा राखियो । सोही समयमा उनले किताब समेत लेख । गुप्ताले भन्ने गरेका थिए– ‘जसको बारेमा सूचना दिएको आरोप मलाई लागेको थियो । उसलाई मैले पहिलो पटक जेलमै भेटेको थिएँ ।’
उनले आफूलाई गलत तरिकाले मुद्दा लगाएर जेल हालिएको समेत बताउने गरेका छन् । उनले भारतीय मूलकै न्यूयोर्कका महान्यायाधीवक्ता प्रीत भराराले समेत कानूनको खिल्ली उडाएको आरोप लगाएका थिए ।
उनलाई जेलमा असाध्यै खराब व्यवहार गरिएको समेत बताउने गरेका थिए । कयौं सातासम्म उनलाई जेलमा एक्लै राखिएको थियो । उनलाई २ वर्षको जेल सजाय सुनाइएको थिए ।
इन्साइडर ट्रेडिङको आरोपमा उनले १९ महिना जेल सजाय त पाए नै । २०१६ मा उनी जेलबाट छुटे । उनले भन्ने गरेका छन्– ‘मैले कुनै गलत काम गरेको थिइन । जेल जानु मेरो नियती बनिदियो ।’
उनले आफ्नो बचाउका लागि कुनै मौका समेत नपाएको बताउने गरेका छन् ।
‘राजारत्नमको हेज फण्डमा १५ प्रतिशत बराबरको हिस्सेदारी थियो । त्यसैको फाइदाका लागि मैले सूचना दिएको थिए । तर, मेरो साथमा हेज फण्डको सेयर समेत थिएन । मलाई कुनै प्रकारको फाइदा हुनेवाला पनि थिएन ।’ उनको दावी छ ।
उनका विरोधीले उनको बैंक स्टेटमेन्टदेखि सबै विवरणको समेत परीक्षण गरेका थिए । तर, कुनै सबूत प्रमाण भेटिएको थिएन । गुप्ताले जेलमा रहँदा माइन्ड विदआउट फियर नामक किताब समेत लेखे ।
उनले त्यसमा कोलकाताको मध्यमवर्गीय परिवारबाट अमेरिकाको कर्पोरट क्षेत्रमा भएको प्रवेशदेखि, सफल मानिसलाई कसरी फसाइन्छ भन्नेसम्मको विवरण किताबमा लेखेका छन् ।
गुप्ता संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानको विशेष सल्लाहकार समेत भएका थिए । सानो लोभ गर्दा चर्चाको शिखरमा पुगेका गुप्ता कसरी जेल जानुपर्यो । र, कसरी सडकमा झर्नुपर्यो भन्ने कुरा उनले गरेको सामान्य गल्तीबाट स्पष्ट भएको छ ।
त्यसकारण पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएर गलत काम गरेका ढुंगानाले कस्तो सजाय पाऊलान् । र, कस्तो कारवाही होला भन्ने प्रश्न यतिबेला नेपालमा चर्चाको शिखरमा रहेको छ ।
जसरी गुप्ताले आफूले कुनै गल्ती नगरेको दावी गर्दै आएका छन्, उसैगरी ढुंगानाले पनि आफ्नो कुनै गल्ती नभएको दाबी गर्दै आएका छन् । हेरौं अब उनलाई कारबाही हुन्छ कि हुँदैन ? भयो भने गुप्ताको जस्तै कारबाही होला कि नहोला ? अहिले नै भन्न सक्ने अवस्था छैन ।