केही बैंक आक्रामक हुँदा प्रणालीमै समस्या आयो, राष्ट्र बैंकले एक्सन लियोस्



७७ वर्ष उमेर पुगेका नारायणदास मानन्धर प्राइम बैंकको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । ५० वर्षको बैंकिङको अनुभव भएका मानन्धर वाणिज्य बैंकहरुमा सबैभन्दा बढी उमेर र अनुभव भएका सीइओ हुन् । यो उमेरमा आएर पनि बैंकको जागिर छाडे पनि रिटायर नहुने बताउँछन् उनी । मानन्धर कृषि विकास बैंकका स्थापनाकालका कर्मचारी हुन् । उनले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंकमा काम गरेका थिए । उनी प्राइम बैंकमा स्थापनाकालदेखि नै आवद्ध छन् । मानन्धरले नेपालको बैंकिङ क्षेत्रको उतारचढावलाई धेरै नजिकबाट हेरेका छन् । पछिल्लो समयमा बैंकमा तरलताको अभाव छ । केही बैंक आक्रामक हुँदा सिस्टममै समस्या आएको उनको भनाइ छ ।५० वर्षको बैंकिङको अनुभव बोकेका मानन्धरले यसलाई कसरी हेरेका छन् ? लगायतका विषयमा क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानीः

असार मसान्तसम्म बैंकिङ प्रणालीमा फालाफाल पैसा थियो । साउनदेखि हराउन थाल्यो । अहिले त हाहाकार नै छ । खासमा पैसा गएको चाहीँ कहाँ हो ?

यो कुरा मैले चाहीँ तपाईंहरुलाई सोध्नुपर्ने हो । तपाईंहरुले मिडियामा लेखिरहनु भएको छ । सरकारको खर्च पहिलो त्रैमासमा हुने कुरा भएन । विदेशबाट आउने रेमिट्यान्स पनि बढेन । आयात बढेको छ । स्रोत सुक्दै गएपछि बैंकिङ प्रणाली पैसा कम भयो । यो बेला बैंकहरु पनि आक्रमक ढङ्गले अगाडि जान जरुरी थिएन । तर, केही बैंकले तँछाडमँछाड गर्दै ऋण पनि बढाएको बढायै गरे । कोरोनापछि राष्ट्र बैंकले लिएको नीतिले धेरैलाई उद्दार गरेको छ । व्यवसायीलाई पनि बैंकरलाई पनि उद्दार गरेको छ । यसलाई राम्रो भन्नुपर्छ।

तपाईंको आफ्नो अनुभवका आधारमा बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कहिलेसम्म जाने देख्नुहुन्छ ?

सरकारको खर्च बढ्न थालेपछि बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) बढ्दै जाने हो । विगतमा पनि त्यही भएको हो । यो बेलामा १ खर्ब प्रणालीमा थपियो भन्दैमा डेढ खर्ब लगानी गर्न भएन नि । बैंकहरु संयमित हुनुपर्यो । अब पहिला निक्षेप बढी भएको बेला ऋण खोसाखोस गर्ने काम भए । बैंकहरु संयमित हुनुपर्ने जरुरी छ ।

कस्ता बैंकहरु संयमित भएनन् ?

धेरैजसो बैंकहरु संयमित भएर नै चलेका छन् । केही बैंकहरु संयमित देखिएनन् । जसको असर प्रणालीमा देखिएको हो । केही बैंकहरु आक्रामक ढंगले चल्दा समस्या देखिएको छ । धेरै बैंकहरु आफ्नो साइजमा बसेका छन् । खेल मैदानमा एक दुईजना अलि आक्रामक हुन खोज्दा फेयर प्ले हुदैन । अहिले भएको पनि यही हो ।

बैंकहरु के मा संयमित हुन सकेनन् ?


ग्रोथ चाहियो भनेर संयमित हुन सकेनन् । ग्रोथ सबैलाई चाहिएको छ । देशलाई पनि ग्रोथ चाहिएको छ । राष्ट्र बैंकको नीति पनि ग्रोथ नै चाहिने खालको छ । १२ महिनामा जुनबेला असजिलो परेकोे हुन्छ त्यही बेला ग्रोथ लिनुपर्ने थिएन । कुनै बेला कम ग्रोथ भएर केही हुने त होइन । सँधै ग्रोथ हुनुपर्ने जरुरी छैन । राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा बढी नै ग्रोथ गर्नपनि जरुरी थिएन ।

राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छलफल गरेको थियो, त्यो बेला के विषयमा कुरा भयो ?

बैंकिङ प्रणालीमा अहिले उच्च तहमा काम गर्ने व्यक्तिहरु युवा जोश भएका, पढे लेखेका विद्धानहरु छन् । राष्ट्र बैंकले सम्झाएको छ । यो बेलामा संयमित भएर जान भनेको छ । राष्ट्र बैंकले पनि सार्वजनिकरुपमा फलानो बैंकले यो गर्यो भनेर भन्न नमिल्ने । त्यो राम्रो कुरा पनि होइन । राष्ट्र बैंकले भनेको नमाने कारवाही गर्ला । अहिले प्रणालीमा पैसा अभाव किन भएको भन्ने सबैलाई थाहा छ । यो बेलामा संयमित भएर नै अगाडि बढ्नुपर्छ भन्ने राष्ट्र बैंकको कुरा ठीक छ ।

बैंकहरु आक्रामक भए भन्नुभयो । यो भनेको बैंकका लगानीकर्तालाई बढी प्रतिफल चाहिएर होइन र ?

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई बढी प्रतिफलका लागि दवाव दियो भन्नुपनि ठीक होइन । किनभने, बैंकमा भएका लगानीकर्ता नयाँ छैनन् । सबै पुराना लगानीकर्ता छन् । सीइओभन्दा पनि बुझेका लगानीकर्ता छन् । दवाव दियो भन्दैमा आत्महत्या गर्नु त भएन नि । कोभिडको महामारीले संसारभर नै तहसनहस भयो । व्यापार व्यवसाय बन्द भयो । त्यसो हुने बेलामा कतिले सहयोग गरे । राष्ट्र बैंकले त्यो बेला सहुलियतको नीति नल्याएको भए के हुने थियो ? सोही नीतिले गर्दा बचेका हो । यही बेलामा बैंकहरु संयमित हुनुपर्ने हो । १०० रुपैयाँ नाफा हुने ठाउँमा ९५ रुपैयाँ नाफा गरे के हुन्छ । बैंकलाई अरु व्यवसायमा हुने जस्तो नाफाको क्षेत्रको रुपमा लिनु पर्दैन । अरु व्यवसायमा ५ रुपैयाँको सामानलाई २० रुपैयाँसम्म बिक्री गरेका छन् । हामी अरु व्यवसाय जस्तो चलाउने होइन । जनताको पैसा चलाउने संस्था हो । त्यसलाई हेर्नुपर्छ ।

पछिल्लो समय बैंकमा आक्रामक ढंगको व्यवसाय विस्तार भयो । यसले बैंकिङ प्रणालीलाई कता लैजाला ?

हामीले जनताको पैसा चलाएर बसेको हो । व्यक्तिगत पैसा चलाएको भए नियम चाहिने थिएन । मैले जहिले पनि बैंकिङमा के भनेको छु भने म प्रतिस्पर्धामा छैन । म कसैसँग प्रतिस्पर्धा गर्दिन भन्छु । यो कुरा भन्दै गर्दा तपाईंहरुले भन्नुहोला प्रतिस्पर्धा पनि गर्दिन भन्छ भने नाफा पनि बढी देखाएको छ । मैले प्रतिस्पर्धा गरेको छैन । मैले कहिले पनि सञ्चालक समितिमा या कर्मचारीलाई फलानो बैंकले यसो गरे हामीले त्यही गर्नुपर्यो भनेर भनेको छैन । मैले आफ्नो धरातल हेरेर अगाडि बढेको छु । एउटा बैंकले एउटा शैली अपनायो भन्दैमा त्यही शैली अपनाएर हुँदैन । एउटा दौडियो भन्दैमा सबै दौडेर त भएन नि । आफ्नो हिसाबले काम गर्ने हो । हाम्रो मुख्य कार्यालय शुरुमा न्यूरोडमा थियो । त्यहाँ बैंक तथा वित्तीय संस्थाको एक सयभन्दा बढी शाखा छ । तर, त्यहीँ भित्रका मान्छेले ऋण नपाउने अवस्था थियो । न्यूरोडमा घर हुने व्यक्तिले घरमा गाडी जाने बाटो नभएका कारण ऋण नपाएको अवस्था थियो । राम्रो व्यवसाय चलाएका र न्यूरोडमा नै घर भएका व्यक्तिले ऋण नपाएको अवस्थामा मैले ऋण दिएँ । त्यसले हामीलाई पनि फाइदा भयो ।

पहिलो कुरा हामीलाई फस्ट बन्नु छैन । कसैसँग प्रतिस्पर्धा गर्नु पनि छैन । हामीलाई त आफ्नो धरातलमा उभिएर बेस्ट बन्नु मात्रै छ । त्यसैले न हामीले आक्रामकरुपमा जने सोचेका छौं न त मर्जर तथा एक्विजेशनमै जाने सोचेका छौं । प्रत्येक वर्ष २० प्रतिशतको हाराहारीमा ग्रोथ गर्दै जाने हाम्रो रणनीति हो । जुन कुरा हामीले प्राप्त गर्दै आएका पनि छौं । जोखिम नियन्त्रणमा विशेष ध्यान दिँदै बैंकलाई आफ्नै शैलीमा अघि बढाउँछौं । आवश्यकता परेको खण्डमा भोलिका दिनमा मर्जर तथा एक्वायरमा चाहीँ सहभागी हुन सक्छौं ।

यस्तै पाटनमा सबै जवान मानिस सीप भए पनि घाम तापेर बस्दै आएका थिए । उनीहरु जे काम गर्थे त्यसमा वर्षको ३ महिनामात्र अर्डर आउने अरु बेला काम नहुने रहेछ । मैले पाटनमा केहीलाई ३ महिनाबाट १२ महिनामै काम गर्ने अवसर सिर्जना गरिदिएँ । हामीले सहरमा बसेर पनि पहुँच नपुगेका व्यक्तिलाई बैंकिङ पहुँचभित्र ल्याएका छौं । उपत्यका बाहिर जिरीमा पनि हामीले काम गरेका छौं । जिरीमा चिज उद्योग थियो । चौरी गाई नभएपछि चिज उत्पादन नहुने भयो । चौरी गाई पाल्नका ऋण दियौं । सबै बैंकहरु आक्रामक भएका छैनन् । एक दुईवटा भएका छन् । केही त्यही बाटोतर्फ जान लागेका हुन् ।

बैंकहरुले विदेशी मुद्रामा नक्कली निक्षेप देखाएर दुरुपयोग गर्न थाले । यस्ता विकृति आक्रामक ढंगको व्यवसाय विस्तारले गरेको होइन ?

त्यो कुरा मैले पनि सुने । अब केही मिलाउनको लागि एक डेढ अर्ब रुपैयाँ लुपहोलभित्र गरेको भए प्रणालीमा खासै ठूलो समस्या आउने छैन । तर, ठूलो परिणाममा गरेको हो भने प्रणालीमा नै समस्या देखिन सक्छ ।

नेपालमा तरलताको व्यवस्थापन निकै चुनौतीपूर्ण देखिन्छ । कहिले बढी तरलता हुने कहिले कम हुने देखिन्छ । यसको दीर्घकालिन समाधान के हुनसक्ला ?

हाम्रोजस्तो देशमा स्रोतको निकै ठूलो अभाव हुन्छ । पैसा जति भएपनि पुग्दैन । अहिले झन् कोराना भाइरसको कारण लकडाउन भयो । बजार खुलेपछि माग निकै बढेको छ । बजारमा डेढवर्ष थुनिएर बसेकाले माग बढेको हो । लकडाउन खुलेर आर्थिक क्रियाकलाप बढेपछि माग बढेको हो । यही बेला सरकारी खर्च भएन । आयात बढी भयो । यसले हामीलाई अत्यावश्यक वस्तु के भने परिभाषित गर्नुपर्ने बेला आएको छ । कुनै सेक्टरको नाम लिनु भएन । विदेशी मुद्रा सन्चिती धेरै महत्वपूर्ण कुरा हो । यसरी आयात बढ्दै गएमा हामीलाई आवश्यक पर्ने खाद्यान्यसमेत किन्न नसक्ने अवस्था आउने हुन्छ । अहिले श्रीलंकाको जस्तो अवस्था आउन नदिन सोच्नुपर्यो । विदेशी सन्चिती जोगाउन सरकारले पनि आयात बढेपछि राजस्व बढ्छ भनेर मात्र सोच्नु भएन । डलर घट्यो भने समस्या हुन्छ ।

तरलता व्यवस्थापन गर्न र विदेशी सञ्चिती जोगाउनका लागि के गर्ने ?

कुन सेक्टर रोक्ने भन्ने कुरा म आफूले भन्न सक्ने कुरा भएन । न्यूनतम आवश्यक पर्ने वस्तुहरु मात्र ल्याउनुपर्यो । अहिले हामी यहाँ बसेर कुरा गर्दा अक्सिजन सजिलै लिएका छौं । या फ्रि छ । हामी हिमाल चढ्न गयौं भने अक्सिजन जोगाउनुपर्ने हुन्छ । त्यो बेला खर्च गर्नका लागि पनि व्यवस्थापन गर्नुपर्यो । यस्तै अवस्था अहिले विदेशी सन्चितीमा छ । अहिले हामीले के नचाहिने वस्तु आयात गरिराखेका छौं । सबैलाई थाह छ । यसलाई रोक्नुपर्यो । हामीलाई अहिलेसम्म बचाएको विप्रेषणले हो । विप्रेषण अहिले किन घट्यो भन्ने सबैलाई थाहा भएको विषय हो । मैले आफ्नो देशका लागि के गर्ने सोच आउनुपर्यो ।

यही महामारीमा समयमा सबै ठूला व्यवसायीले खाली ब्याज छुटमात्र चाहियो भनेर मागे । उद्योग बचाउनका लागि मागेको हो । उहाँहरुको नाफा १०० बाट ९५ मा झर्दा केही फरक पर्ने थिएन । त्यो बेला कतिले खान पाएनन् । हामी बैंकमा बसेर यस्ता कुरा सोच्ने गर्छौं । हामीलाई कुनै ऋण लिएको व्यक्ति समस्यामा परेको भए पिर हुन्छ । हामीले ऋण लिएको व्यक्तिको राम्रो होस् नै भनेर कामना गर्छौं ।

बैंकहरुले धमाधम ब्याज बढाएका छन्, ब्याजदर कतिसम्म पुग्ला ?

बैंकहरुको ब्याज बढ्नु बाध्यता हो । ब्याज केही बढ्छ । बैंकहरु संयमित भएमा डिमाण्ड पनि घट्छ र ब्याज पनि घट्ने थियो । मैले जति बढाए पनि हुन्छ भन्ने सोच राख्यो भने ब्याजदर बढ्दै जान्छ । ब्याज केही बढेपनि धेरै बढ्न भने राष्ट्र बैंकले दिने छैन । एक पटक प्रकाशन गरेको व्याजदर ३ महिनासम्म चलाउन नपाउने भनेमा ब्याजदर बढ्ने क्रम रोकिन्छ । राष्ट्र बैंकले कडाई गर्ने हो भने ब्याजदर बढ्ने कुरा हुँदैन । हामी संस्था हो । संस्था नियमनमा बस्नुपर्ने हुन्छ । उपयुक्त समयमा राष्ट्र बैंकले हस्तक्षेप गरेर नियन्त्रण पनि गर्दै आएको छ । अब पनि गर्नुपर्छ ।

एकातिर हामी फ्रि मार्केट भन्छौं, फेरि अर्कातिर राष्ट्र बैंकको हस्तक्षेपलाई सहर्ष स्वीकार गर्छौं नि, किन ?

विश्वमा फ्रि मार्केट भन्ने हुँदैन । म पहिला अन्तर्राष्ट्रिय सेमिनारमा जाने गर्थें । मैले त्यहाँपनि बहस गर्ने थिएँ । उनीहरुको फ्रि मार्केटअनुसार खाद्यान्न संकटमा पनि सहयोग गर्न पाउने अवस्था हुँदैन । हाम्रोमा फ्रि मार्केट अनुसार हुनेको एउटा कुरा हुन्छ । नहुनेको अर्को कुरा हुन्छ ।

तपाईंहरु नै भन्नुहुन्छ, राष्ट्र बैंकले बढी हस्तक्षेप गर्यो । अनि व्याजलगायत विभिन्न कुरा राष्ट्र बैंकले नै तोकिदिनु पर्ने अवस्था छ । यति धेरै पढेलेखेका बैंकर हुँदा पनि किन यस्तो भएको होला ?


पहिलेभन्दा धेरै पेढेलेखेका विद्धान छन् । ५० वर्ष अगाडि जाने हो भने पढेलेखेका मान्छे पाउनै गाह्रो थियो । अहिले यतिधेरै पढेका र प्रविधि बुझेका मानिस छन् । सिकाउनुपर्ने अवस्था छैन । पुलिसथाना, जेल किन राख्नुपथ्र्यो । यही विचारले ठाउँ छोडिदिए पछि के गर्ने ? झगडा गर्ने ठाउँमा के हुन्छ । लडाईं होला, मार्ला फेरी अर्को तह आउला । त्यो भनेको अर्कै होला ।


कहिलेसम्म थामेर राख्ने नियामकले ?


तपाईं हामीले बच्चालाई किन नराम्रो काम नगर है भन्छौं । त्यो भनेको सम्झाएको हो । यहाँ पनि कुरा त्यही हो ।


बैंकरहरू जिम्मेवार र म्याचुअड भएनन् भन्न खोज्नु भएको हो ?


यो उमेर हुने कुरा होइन । मनोवृत्तिले हुने कुरा हो । हामी व्यक्तिगत हिसाबले त्यसतर्फ जाँदैछौं । त्यसमा छलफल बहस गर्ने हो । त्यो मेरो दायित्व हो कि होइन । म यहाँ बसिसकेपछि मेरो कार्यालय सम्झने कि, सेवाग्राही, कर्मचारी सम्झिने कि । त्यो भनेको मनोवृत्तिको नै हो । मैले बारम्बार र शुरुवातीदेखि नै भन्दै आएको छु । कतिपय मानिसहरू खुसी भएका छन् । किनभने ब्याज बढी दिन्छु भन्ने, ग्राहकसँग ब्याज बढी नलिने भन्ने र स्टकहोल्डरलाई बढी रिटर्न दिन्छु भन्ने । गर्न नसक्ने भन्ने हुन्न । हाम्रो संस्था एक्टिभ त राखौं न । यहाँ काम गर्ने मान्छेहरू हाम्रा सहयात्री हुन् । हामीले कताकताबाट ल्याएको पैसाले कमाएर देखाओस् न । खाओस्, हाँसेर आएर ब्याज तिर्न सकोस् । त्यो हाम्रो सफलता हो ।


तर, नेपालमा त्यस्तो बैंकिङ प्राक्टिस छ त ?
हुनुपर्यो । कतिपय गरेका पनि छन् ।


तपाईंले प्राइम बैंकमा ऋण लिनेलाई ऋणीको रुपमा होइन सहयात्रीको हेर्छु भन्न खोज्नु भएको हो ?


पक्कै हो । तपाईंले अहिले जति पनि हामीसँग काम गरेकाहरूलाई प्राइम बैंकको बारेमा सोध्नोस् ।


बैंक भन्ने वित्तिकै ऋणीलाई अप्ठ्यारो पर्यो कि लिलामी गरेर सम्पत्ति हडप्ने भन्ने छाम आम मानिसमा छ नि ?


होला । यो एउटा स्वदेशी बैंक हो । स्वदेशी बैंक भएकाले दाजुभाई दिदीबहिनीलाई हेर्नुपर्यो । भुकम्प, चौरीगाईको उदाहरण दिइसकेको छु । त्यसमा बैंकले टाउको लिएको थियो ? बाबुराम भट्टराईको पालामा सबै घर भत्काए । उनको उद्देश्य राम्रो थियो नि । सडक, तारलगायतको व्यवस्था भयो । तर, घर भत्केर के भो त ? पैसा त हो । नहुनेले के गर्ने त ? सरकारले कुनै स्किम त ल्याएन । हामीले गर्यौं ।


बैंकको संख्या धेरै भएकाले विकृति आएको हो भन्ने लाग्छ कि लाग्दैन ?


नेपाली समाजमा कमजोरी हुन थाल्यो जस्तो मलाई लाग्छ । अरुलाई आरोप लगाउने, आरोपित गर्ने चरण आयो । केही भएर केही सामान खस्यो भने यो कसरी राखेको भनेर गाली गर्ने गरिन्छ । मेरो लापरवाहीले अड्याउन नसकेर टुटेको नभन्ने अवस्था छ । पहिले आफैं नियालेर हेर न म के मा कमजोरी छ । म अरुलाई किन भन्ने ?


हाम्रो अर्थतन्त्रको आकारका आधारमा बैंकको संख्या बढी भएकाले यो खालको प्रतिस्पर्धा भएको हो भन्ने एकथरीको बुझाइ छ नि, तपाईंको बुझाइ के हो ?


होइन । जहिले पनि निर्णय गर्दा भगवानले हामीलाई विवेक भन्ने चिज पनि दिएको छ । विवेक पनि प्रयोग गरी हेरौं न । कुनै पनि देशमा ५ वटा अथवा १० वटा बैंक होला । एउटा गाउँमा पुग्न अब कति प्रतिशत बैंकिङ हाबी भयो । हामी भन्दैछौं कुनै पनि गाउँमा पुग्नलाई कति हिँड्नुपर्छ । यहाँ बसेर पहिले कृषि विकास बैंक, वाणिज्य बैंंक, नेपाल बैंकले गरेकै थियो नि । त्यो बेला यो बैंक, त्यो बैंक भन्ने अवस्था थिएन । आफैं गर्नुपर्ने अवस्था थियो । अहिले यति धेरै छ । त्यही भएर बाटो खुलेको हो । त्यही पनि अहिलेसम्म बैंक हाबी हुन पाएको छैन । गाउँघरमा पहिलेभन्दा धेरै राम्रो भएको छ ।


अहिले एउटा गाउँमा गयो भने घर कर्जा लिन खोज्यो भने घर पास गर्दिनुपर्छ । त्यसमा ६० प्रतिशत ३६ प्रतिशत ब्याज भन्छ । कतिपय स्थानमा जग्गा पास गर्दा डेढ सय प्रतिशत पनि पर्छ । अहिले भारतमा काम गरेको मान्छै दशैंअगाडि पैसा लिन जान्छन् । तिहारमा तिहारपछि जान्छन् । उनीहरूलाई चैत महिनासम्म फिर्ता दियो भने नेपालीको भारु दो भन्छ । अब चैतपछि ल्याउँछु भन्यो भने वैशाख महिना लागेपछि भारुलाई नेपाली गरेर महिनामा ५ प्रतिशत भन्छ । त्यसरी, हाम्रो नेपाली दाजुभाइले ब्याज दिएका छन् । त्यो ठाउँमा बैंकिङ, माइक्रोफाइनान्स पुग्यो होला । त्यसमा धेरै राम्रो गरिरहेका छन् ।


वित्तीय सूचकहरू राम्रो हुँदै गएपनि प्राइम बैंकमाथि कन्जरभेटिभ छ भन्ने आरोप छ नि ?


ठिकै होला । कुनै मानिस गलत बोल्न चाहँदैनन् । उनले ठिक सम्झेर बुझ्यो भन्ने हो । हामी पनि के भन्छौं भने उहाँले बुझेको जुन एक्सपेक्ट हो त्यो ठिक हो भन्छौं । तर, किन भन्ने कुरा आउला । हो मलाई भन्छ । सिइओ जस्तो मान्छेले यस्तो गाडी चढ्छ भन्छ । म कन्जरभेटिभ भए । मेरो स्ट्याटसअनुसार चढेन भने म कन्जरभेटिभ भए । बैंकहरूमा खर्च बढी गर्दैमा राम्रो हुने भए त ? पब्लिक वस्तीमा छौं नि । पब्लिक मेरो गोजीमा छैन । त्यस्तै, म पब्लिकको बोली लिँदै छु भने अब के जवाफ दिने ? म कुन धरातलमा बसेको छु मलाई थाहा छ । यहाँको मान्छेको माहोल भनेको हामी नै हो । त्यसमा कोल्याट्रल भयो भने दौडाउँछ । कोल्याट्रल भएन भने के गर्छ ।


प्राइम बैंकले ग्राहक कति पुर्यायो ?


अहिले ९ लाख ग्राहक पुगेका छन् ।

अब बैंकलाई कसरी अघि बढाउने सोच्नु भएको छ ?


सबैभन्दा पहिलो हामी यो देशको बैंक । यो देशको बैंक भनेपछि हामीभन्दा माथि राष्ट्र बैंक । राष्ट्र बैंकलाई पनि सरकारी नीतिले नियमन गर्छ । त्यसको आधारमा किटान गरेका नीतिहरूको बारेमा त हाम्रो पहिलो प्राथमिकता हो । उनीहरूले आफ्नो फाइदाको लागि भनेको हो र ? राष्ट्रको आवश्यकताको लागि यसरी गरौ भनेर जुन निचोड ल्याएको छ । त्यही आधारमा गर्ने हो । हाम्रोमा हेर्नुस् पहिले पहिलो हाइड्रोमा को जान्थ्यो ? जोखिम उठाएर गएपछि कन्जरभेटिभ भन्दिने ? भन्दै आएपछि गए भने लिबरल भए । कर्जा माग्यो भन्दैमा म दिन्छु त ? दिन्न । अब सरकारको केन्द्रीय बैंकले ल्याएको नीति मान्नु हाम्रो कर्तव्य हो । उसले यो गर्ने भनेर एउटा लक्ष्य राखेको हुन्छ । यो अनुसार गरौं भन्ने हुन्छ । त्यसमा हामीले साथ नदिए कसले दिने । प्ले ग्राउन्डमा हामी बस्ने, बाहिरको मान्छेबाट आश गर्ने ? त्यो भएन न नि त ।


अब प्राइम बैंकले देशका विभिन्न स्थानमा कृषिमा लगानी गर्ने भएको छ । भूकम्पले भत्किएको घरमा सरकारले नीति राख्यो । २७ वटा बैंकले गर्नेभन्दा बढी हामी एउटै बैंकले सबैभन्दा बढी काम ग¥यौं । त्यो बेला बैंकले ठूलो कर्जा दिएर सेवा गरेको छ । खर्चिलो र गाह्रो छ । हाम्रो दाजुभाई दिदीबहिनीलाई आपतविपत पर्ने बेलामा सहयोग गर्न दिएको कुरालाई हामी गर्ने हो नि । त्यो बेलामा डेढ अर्ब लगानी गरेकोमा ८० करोड बैंकले खर्च गरेको हो । कुनै पनि बद्मास जन्मजात हुन चाहँदैन । हाम्रो पोर्टफोलियो हेरौं । सबै देखिन्छ ।

कतिपय बैंकहरु ठूलो बन्नका लागि आक्रामक व्यवसाय विस्तारमा लागेका छन् भने कतिपय मर्जर तथा एक्विजेशनमा । प्राइम बैंकले चाहीँ कस्तो रणनीति अबलम्बन गर्छ ?

पहिलो कुरा हामीलाई फस्ट बन्नु छैन । कसैसँग प्रतिस्पर्धा गर्नु पनि छैन । हामीलाई त आफ्नो धरातलमा उभिएर बेस्ट बन्नु मात्रै छ । त्यसैले न हामीले आक्रामकरुपमा जने सोचेका छौं न त मर्जर तथा एक्विजेशनमै जाने सोचेका छौं । प्रत्येक वर्ष २० प्रतिशतको हाराहारीमा ग्रोथ गर्दै जाने हाम्रो रणनीति हो । जुन कुरा हामीले प्राप्त गर्दै आएका पनि छौं । जोखिम नियन्त्रणमा विशेष ध्यान दिँदै बैंकलाई आफ्नै शैलीमा अघि बढाउँछौं । आवश्यकता परेको खण्डमा भोलिका दिनमा मर्जर तथा एक्वायरमा चाहीँ सहभागी हुन सक्छौं ।