औद्योगिक पूर्वाधारको विकासका लागि निफ्रा र सेजबीच सम्झौता



काठमाडौं । औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि नेपाल पूर्वाधार बैंक र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सहमति भएको छ ।

निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत् औद्योगिक पूर्वाधार निर्माणका लागि सहमति भएको हो ।

समझदारीपत्रमा ५ प्रकारका विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहकार्य हुने उल्लेख छ ।

बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुाजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गरिने सहमतिपत्रमा उल्लेख छ ।

उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको उपस्थितीमा प्राधिकरण र बैंकका अधिकारीहरुको सहभागिता रहेको सो अवसरमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु