धापाखेलमै ३ रियलस्टेट कम्पनीका २७१ युनिट हाउजिङ बन्दै



काठमाडौं । उपत्यकामा पछिल्लो समयमा व्यवस्थित आवासको रुपमा विभिन्न रियलस्टेट कम्पनीले कोलोनी र हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएका छन् । घर बनाउनको लागि अत्यावश्यक जग्गाको मूल्य अप्रत्याशित रुपमा बढ्दै गएपछि हाउजिङ र कोलोनीमा अधिकांश मानिसको आकर्षण बढ्दै गएको डेभलपरहरू बताउँछन् ।

उपत्यकामा मात्रै नभएर अहिले देशका विभिन्न ठूला शहरहरूमा जग्गाको मूल्य अत्यधिक बढेको छ । जसले गर्दा व्यवसायी तथा रियल स्टेट कम्पनीले थोरै जग्गामा व्यवस्थित आवासको रुपमा हाउजिङ र कोलोनी निर्माण गरिरहेका छन् ।

पछिल्लो समय रिङरोडभित्र हाउजिङ, अपार्टमेन्ट र कोलोनी निर्माण गर्न वातावरण नभएपछि सोही व्यवसायी तथा रियल स्टेट कम्पनीलले उपत्यकालक्षित रिङरोड वरिपरीको क्षेत्रमा निर्माण कार्य अगाडि बढाएका छन् ।

यस्तै, धापाखेलमा मात्रै तीन ठूला रियल स्टेट कम्पनीले हाउजिङ निर्माण कार्य अगाडि बढाएका छन् । जसमा सिजी प्रोपटीज, क्लासिक रेसिडेन्सी र डाउनटाउन हाउजिङले छुट्टाछुट्टै स्थानमा २ सय ७१ युनिटका हाउजिङ निर्माण गर्ने भएको छ ।

क्लासिक रेसिडेन्सी

क्लासिक डेभलपर्सले धापाखेलमा क्लासिक रेसिडेन्सी निर्माण गर्ने भएको छ । कम्पनीले धापाखेलमा ३५ रोपनी क्षेत्रफलमा ८४ युनिटको हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले २३ सय ४५ वर्गफिटदेखि २६ सय ३१ वर्गफिटमा चार आनादेखि चार आनादेखि नौ आनासम्मका घर बनेका छन् ।

कम्पनीले विभिन्न सुविधाका साथ चार प्रकारका घर निर्माण गर्ने जनाएको छ । जसमा कम्पनीले टाइप ‘ए’ र टाइप ‘बी’ को घर २६३१ वर्गफिटमा साढे दुई तल्लाको घर निर्माण गर्ने भएको छ । कम्पनीले भुई तल्ला ९४० वर्गफिट, पहिलो तल्ला ९७५ वर्गफिट र दास्रो तल्ला ७१६ वर्गफिटको निर्माण गरिरहेका छन् ।

त्यस्तै, टाइप ‘सी’ र टाइप ‘डी’ का घरहरू २३ सय ४५ वर्गफिटमा निर्माण भइरहेको छ । उक्त रेसिडेन्सीको भुई तल्ला ८२३ वर्गफिट, पहिलो तल्ला ८६१ वर्गफिट र दोस्रो तल्ला ६६१ वर्गफिटको निर्माण गर्ने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सो रेसिडेन्सीको सुरुवाती मूल्य ३ करोड ७० लाख रुपैयाँ तोकेको छ ।

रेसिडेन्सीमा घरअनुसार किचन, बेडरुम, डाइनिङ, लिभिङ रुम, मेड रुम, पूजा कोठा रहेका छन् । साथै, मल्टीपर्पोज हल, क्याफे, टेबल टेनिस, स्टिम बाथ, ससौन बाथ र योगशालाको पनि व्यवस्था हुनेछ । त्यससँगै, पर्याप्त पार्किङ, चिड्रेन ग्राउन्डलगायत अन्य विभिन्न सुविधाको व्यवस्था हुनेछ ।

सिजी लेक भ्यू

सीजी होल्डिङले पनि धापाखेलमा सीजी लेक भ्यू बनाउँदैछ । कम्पनीले धापाखेलमा करिब ७७ रोपनी क्षेत्रफलमा दुई चरणमा सीजी लेक भ्यू भ्यू निर्माण गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा ४८ रोपनी ११ आना क्षेत्रफलमा ८७ वटा युनिटको हाउजिङ निर्माण गर्नेछन् । साथै, दोस्रो चरणमा ३९ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण गर्नेछ ।

कम्पनीकाअनुसार घर साढे २ तलाका हुनेछ । उक्त घर आनादेखि १३ आना क्षेत्रफलसम्मको घर निर्माण गर्ने कम्पनीको भनाइ छ । कम्पनीले उक्त क्षेत्रमा निर्माण भइरहेको घरको शुरुवाती मूल्य मूल्य ३ करोड ८० लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले उपयुक्त जग्गा, हरियाली खाली ठाउँ, सरकारी खाली जग्गा र सडकको लागि पर्याप्त खुल्ला ठाउँ राखेको कम्पनीको भनाइ छ । साथै, कम्पनीले सो हाउजिङभित्र स्वीमिङ पुल, ग्रोसरी स्टोर, पार्किङ, हेल्थ क्लवलगायत अन्य आवश्यक सम्पूर्ण सेवा सुविधाको व्यवस्था गर्नेछ ।

डाउनटाउन हाजिङ

नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले धापाखेलमा डाउनटाउन हाउजिङ निर्माण गर्ने भएका छन् । कम्पनीले यही दशैं तिहारलक्षित डाउनटाउन हाजिङको बुकिङ खुल्ला गर्ने जनाएको छ ।

कम्पनीले ८५ रोपनीभन्दा बढी क्षेत्रफलमा हाउजिङ निर्माण गर्ने तयारी गरेको हो । उक्त क्षेत्रमा करिब एक सय युनिटको हाउजिङ परियोजना ल्याउँदैछन् । डाउनटाउन हाउजिङमा साढे ३ आनादेखि १० आनासम्मका घर हुनेछन् । कम्पनीले सो हाउजिङ भित्र स्वीमिङ पुल, हेल्थ क्लब, पर्याप्त पार्किङ, हरियाली गार्डेनको व्यवस्था हुनेछ ।


अरिष्मा मोक्तान