बढी बिजुली खपत गर्नुस् डिमाण्ड शुल्क बढेपनि महशुल बढ्दैनः कुलमान



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा खेर जाने बिजुलीको अधिकतम उपभोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले रातको समयमा प्रयोग गरिने बिजुलीको महशुल समेत कम हुने बताए । उनले कम बिजुली प्रयोग भएको अवस्थामा मात्रै डिमाण्ड शुल्क बढी पर्ने भएकाले बढी भन्दा बढी बिजुली खपत होओस् भन्ने ध्येयले डिमाण्ड शुल्कमा प्रतिकेभीए १०० रुपैयाँ वृद्धि भएको बताए । उनले समग्रमा उद्योगीलाई समेत कुनै थप शुल्क तिर्नु नपर्ने उनको भनाइ छ ।

उद्योगी व्यवसायीलाई थप महशुल नपर्ने दाबी गर्दै उनले बढी भन्दा बढी खपत होस् भन्नेमा मात्रै आफूहरुले ध्यान दिएको बताए ।

उनले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत् पनि बिजुली उपलब्ध गराउन सकिने बताए । प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गरिरहेको सन्दर्भमा अब १३२ केभी क्षमताका प्रसारण लाइनसमेत उपयोग हुन सक्ने कुलमानको भनाइ छ ।

उनले १३२ केभी क्षमताको प्रसारण लाइन नजिक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई तत्काल नै कनेक्सन गरिदिने जानकारी दिए ।

उनले विरगन्ज, भैरहवा र नवलपरासीमा त्यस्ता प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउन सकिने बताए । उनले बिजुलीको खपत बढाउने नै आफूहरुको ध्येय रहेको भन्दै कन्डक्टर फेर्नेदेखि अन्य प्राविधिक सुधारको काम समेत भइरहेको बताए ।


क्लिकमान्डु