कोरोना बीमाको भुक्तानीबारे अर्थमन्त्रीको चासो, प्रक्रिया शुरु गर्न दिए निर्देशन



काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले कोरोना बीमाको भुक्तानीका सम्बन्धमा चासो व्यक्त गरेका छन् । सरकारको दायित्वमा परेको ११ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानीमा ढिलाइ भएसँगै अर्थमन्त्री शर्माले छलफल शुरु गरेका हुन् ।

अर्थमन्त्रीले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रदा सिलवालसहित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । सिलवालले कोरोना बीमा दावी भुक्तानीका लागि आवश्यक स्रोत र साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

अर्थमन्त्रीले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन समेत दिएका छन् ।

यसअघि कोरोना बीमा वापती दावी भुक्तानी वापतको ३ अर्ब ५० करोड रुपैयाँसम्म बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिमार्फत् भुक्तानी गर्ने र सोभन्दा बढी दायित्व वापतको रकम सरकारले व्यहोर्ने सम्झौता भएको थियो ।

जसअनुसार हालसम्म बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँका साथै बीमा कम्पनीहरुले करिब १ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गरिसकेका छन् ।

तर सरकारको दायित्व अन्तर्गतको करिब ११ अर्ब रुपैयाँ हालसम्म भुक्तानी हुन सकेको छैन । तत्कालीन पूर्वअर्थमन्त्री विष्णु पौडेलले यस विषयमा चासो व्यक्त गरे पनि दायित्व अन्तर्गतको रकम भुक्तानीमा आलटाल गरेका थिए । साथै अर्थमन्त्री शर्माले समेत केही समयअघिसम्म दायित्वबाट पन्छिने प्रयास समेत गरेका थिए ।

तर बीमा कम्पनीहरुले कोरोना बीमाका कारण समग्र बीमा व्यवसाय नै प्रभावित भएको भन्दै आफूहरु कोल्याप्स हुने अवस्थामा आएको विभिन्न सञ्चारमाध्यममा बताउँदै आएका छन् ।


क्लिकमान्डु