दशैंअघि किस्ता तिर्न ऋणीलाई बैंक तथा वित्तीय संस्थाको दबाब



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अगाडि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि दबाब दिएका छन् । दशैंका लागि असोज २६ गतेदेखि ५ दिनको विदा शुरु हुन्छ ।

दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ गते बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् । यो पटक दशैं असोज मसान्तमा रहेको हुँदा बैंक तथा वित्तीय संस्थाले असोजको दोस्रोसातादेखि नै ऋणीलाई किस्ता तिर्न अनुरोध गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ठूलादेखि साना सबैलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीले मिलेसम्म दशैं अगाडि नै किस्ता तिर्न अनुरोध गरेका छन् । व्यवसायीहरुका अनुसार कतिपय बैंक तथा वित्तीय संस्थाले दशैंको विदा अगाडि शुरु हुनु अगाडि जसरी भएपनि किस्ता तिर्नका लागि दबाब आएको बताउँछन् ।

व्यवसायीहरुले धेरैजसो समय ऋणको किस्ता र ब्याज तोकिएको अन्तिम दिनमात्रै दिने गर्छन् । असोज मसान्तमा आयकरको व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा कर तिनुपर्ने दबाब छ ।

‘नियमित बैंकको ऋण तिरिरहेपनि दशैंअघि नै किस्ता तिर्नका लागि दबाब आएको छ, दशैंको विदा सकिएपछि अन्तिम दिन ३१ गते तिर्दा हुने किस्ता दशैं अगाडि नै तिर्नका लागि फोन बढी आएको छ,’ एक व्यवसायीले भने ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु भने असोजको अन्तिम साता दशैंको विदा रहेको हुँदा खातामा पैसा भएका व्यवसायीलाई दशैं अगाडि किस्ता तिर्नका लागि अनुरोध गरेर फोन गरेको बताउँछन् ।

‘हामीले ऋणीलाई महिना र त्रैमासको अन्तिममा किस्ता तिर्र्ने समय आयो भनेर फोन गर्ने गरेका छौं, यो पटक असोजको अन्तिम साता दशैंको विदा छ त्यसैले अहिलेदेखि नै पैसा छ भने तिर्नुहोस् भनेर फोन गरेको हो,’ एक बैंकका शाखा प्रबन्धकले भने ।

बैंक तथा वित्तीय संस्थाले दिएको ऋण पहिलो त्रैमासमा नउठेमा २५ प्रतिशत, दोस्रो त्रैमासमा नउठेमा ५० प्रतिशत र एक वर्षमा पनि नउठेमा शतप्रतिशत रकम प्रोभिजन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अहिले ४७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।


क्लिकमान्डु