एक सातामा २०४.७ अंकले घट्यो नेप्से, मंगलबार मात्रै ७० अंकको गिरावट



काठमाडौं । गत बिहीबारदेखि राताम्मे भएको सेयर बजार मंगलबार पनि कायमै छ । मंगलबार अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा नेप्से परिसूचक ७०.०५ अंकले घटेर २६१५.३६ अंकमा सीमित भएको छ ।

बिहीबारदेखि मंगलबारसम्म मात्रै नेप्से परिसूचक २०४.७ अंकले ओरालो लागिसकेको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थालगायतका कम्पनीहरुले लाभांश घोषणा गरिरहँदा पनि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन । जसले गर्दा सेयर बजार अब बियरिङ ट्रेन्डमा गएको हुन सक्ने जानकारहरुको आँकलन छ ।

मंगलबारको दिनभरको कारोबारमा १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १९७ वटा कम्पनीहरु रातो चिन्हमा बन्द भए भने जम्मा १५ वटा कम्पनीको सेयर मूल्य हरियो चिन्हमा बन्द भएको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

यो दिन उपसूचक सबैमा गिरावट देखिएको छ । जसमा सबैभन्दा धेरै गिरावट फाइनान्समा देखिएको छ । फाइनान्स उपसमूह ७.३७ प्रतिशतले ओरालो लागेको छ । साथै जलविद्युत्, विकास बैंकको उपसमूहतर्फ पनि गिरावट देखिएको छ ।

अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको दिन मनकामना स्मार्ट लघुवित्त र माइलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स, हिमालयन पावर पाटर्नर, गोर्खाज फाइनान्स, जोशी हाइड्रोलगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु