२७ वर्षपछि १०६१ मेगावाटको माथिल्लो अरुणमा फर्कदै विश्व बैंक



काठमाडौं । विश्व बैंकले १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लगानीका लागि इच्छा व्यक्त गरेको छ ।

सोही बैंकको सहुलियत ऋणमा सो आयोजनाको बिस्तृत अध्ययनको काम भइरहेको छ । अध्ययन समेत अन्तिम चरणमा रहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा तत्कालीन नेकपा(एमाले)को उग्र राष्ट्रवादका कारण काम शुरु हुँदा नहुँदै छाडेर गएको विश्व बैंक पुनः माथिल्लो अरुणमा लगानीका लागि इच्छुक देखिएको छ ।

राष्ट्रवादको नाममा अलापिएको गलत रागका कारण अरुण तेस्रो नबन्दामा नेपालले झण्डै २० वर्षसम्म ऊर्जा क्षेत्रमा संकट भोग्नुपरेको थियो ।

विश्व बैंक फर्किएका कारण खिम्ती र भोटेकोशी जस्ता आयोजनामा नेपालले डलरमा विद्युत् खरिद सम्झौता गर्दा ठूलो व्ययभार व्यहोर्नु परेको छ ।

विश्व बैंक २०५१ सालपछि पुनः अरुण बेसिनमा लगानीका लागि तयार भएको छ । नेपाली समाजमा भनिदै आएको १२ वर्षमा खोला पनि फर्किन्छ भने जस्तै, सोही अवधिमा नै नभएपनि झण्डै २७ वर्षपछि विश्व बैंकले नेपालका आकर्षकमध्येको एक आयोजनामा लगानीका लागि तयार भएको हो ।

लगानी र ऊर्जाका हिसाबले पनि आकर्षक रहेको सो आयोजनामा लगानीका लागि विश्व बैंक तयार जस्तै देखिएको छ । अध्ययन सकिएपछि सबै प्रक्रिया अगाडि बढ्छ, ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।

बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलले शुक्रबार छलफल गरेको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा उनीहरुबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ ।

त्यस अवसरमा मन्त्री भुसालले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप बिस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन, ‘हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ ।’
मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सँधै सचेत रहने विश्वास दिलाइन् ।

भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए ।

नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी बिस्तार गर्न इच्छुक रहेको बताए ।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए ।

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकर प्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागी थिए । त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एसियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद–जेर्भाेस उपस्थित थिए ।

विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ ।

सोहीअन्तर्गत ४०० केभीको हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइन र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ ।


क्लिकमान्डु