दुई महिनामा साढे २ खर्ब बढी व्यापार घाटा, साढे ८३ अर्ब राजश्व संकलन



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले साढे २ खर्ब बढी व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको भदौसम्ममा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापारघाटा गरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७०ं.७५ प्रतिशतले व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले भदौ महिनासम्ममा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा ७५.८६ प्रतिशतले आयात बढेको छ ।

त्यस्तै, चालु आवमा निर्यातमा पनि गत साउन महिनाकै हाराहारीमा निर्यात बढेको छ । आव २०७७/७८ को पहिलो दुई महिनामा नेपालबाट २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँको निर्यात गरेको छ । जुन ११५.४३ प्रतिशतले बढी हो ।

नेपालले चालु आवको पहिलो महिना देखिनै उच्च रुपमा आयात निर्यात गर्दै आएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

नेपालले दुई महिनाको अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालु आवको वैदेशिक व्यापार ७९.९२ प्रतिशतले बढेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आयात निर्यातको अनुपात हेर्ने हो भने गत वर्षको तुलनामा १८.३७ प्रतिशतले बमी आएको छ । गत वर्ष भदौ महिनासम्ममा औसत आयात/ निर्यात ८.७५ रहेकोमा चालु आवमा ७.१४ प्रतिशतमा झरेको छ ।

साथै, सरकारलले उक्त आयातित वस्तु तथा सेवाबाट ८३ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

यी हुन् मुख्य हुने आयात १० वस्तु

त्यसैगरी, नेपालबाबाट भदौ महिनासम्ममा सबैभन्दा बढी सोयाबिन आयल आयात गरेको छ । भदौसम्ममा नेपालले १५ अर्ब ६० करोड रुपैयाँको क्रुड सोयाबिन तेल आयात गरेको छ । दोस्रोमा डिजेल मात्रै १३ अर्ब ९६ करोड २८ लाख रुपैयाँको आयात गरेको छ ।

त्यस्तै, आइरन तथा स्टिल १० अर्ब ५४ करोड ५१ लाख रुपैयाँको, मोबाइल फोन १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँको, पेट्रोल ८ अर्ब ५५ करोड २५ लाख रुपैयाँको, सुन ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको, एलपीजी ग्यास ७ अर्ब ९९ करोड २३ लाख रुपैयाँको, सिल्भर ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको, क्रुड पाम तेल ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको र आइरन स्टिल ४ अर्ब ८७ करोड ५८ ५८ लाख रुपैयाँको आयात भएको छ ।

यी हुन् मुख्य निर्यात वस्तु

नेपालले दुई महिनाको अवधिमा ४४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्दा आयातिति भट्मासको तेल नै उच्च रुपमा निर्यात भएको देखिन्छ । दुई महिनाको अवधिमा नेपालबाट १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँको मात्रै भट्मासको तेल निर्यात भएको छ ।

दोस्रोमा भारतले पाम तेलको निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै पाम तेल ७ अर्ब ५० करोड ६१ लाख रुपैयाँ, १ अर्ब ५० करोड ३६ लाख रुपैयाँको कार्पेट, १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँको सूर्यमुखी तेल, १ अर्ब ३३ करोड ५० लाख रुपैयाँको जुट तथा टेक्स्टायल, १ अर्ब ९ करोड ७ लाखको फेल्ट, ९३ करोड ८२ लाखको धागो, ९१ करोड ६ठ लाखको अलैंची निर्यात भएको छ ।


क्लिकमान्डु