दशैंका लागि असोज ११ गतेदेखि सवारीसाधनको अग्रिम टिकट बुकिङ लिइने



काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि आगामी असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरू नहुने पनि स्पष्ट पारे ।

महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन् । नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली, छठलगायतका यी महत्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एकमहिना अथवा १५ दिन पहिला गर्ने परम्परा रहिआएको छ,’ उनले भने, ।

त्यस्तै, गत वर्ष कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढंगबाट यात्रुहरु पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरुको व्यवस्थापन गरेका थिए । हाल नेपालभर वर्षाको कारणले सडकहरू बिग्रिएका छन् ।

‘दुई दिन जति गाडी आउन जान समय लागिरहेको छ । नारायणगढदेखि सुनौलिसम्मको बाटो त अस्तव्यस्त नै छ,’ उनले भने, ‘ग्रामीण सडकहरू बिग्रिएकाले सडक विभागलाई फास्ट ट्रयाकमा ग्राभेल गरेर खाल्डोहरु पुर्ने काम दुर्घटना न्यूनिकरण हुन्छ । साथै, यात्रुहरूले पनि सहजताका साथ सरासर आउने व्यवस्था हुनुपर्छ ।’

त्यसैगरी, अहिले अधिकांश प्रदेशहरूले भाडा समायोजन गरेको छ । वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी रहेको उनले बताए । त्यसको पछि छिट्टै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभागमार्फत् छलफल भइरहेको जानकारी दिए ।

महासंघका महासचिब सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्कलगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए ।


क्लिकमान्डु