पुनरकर्जाको अधिकतम सीमा घट्यो, अब २ खर्ब १२ अर्ब ८८ करोडसम्म मात्रै दिन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको अधिकतम सीमा घटाएको छ । यसअघि कायम भएको कुल स्रोत रकमको अधिकतम ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सकिने व्यवस्थालाई संशोधन गर्दै अधिकतम ४.१२ गुणासम्म मात्रै पुनरकर्जा दिन पाइनेछ ।

राष्ट्र बैंकको सीमा घटाउँदै रकम नै तोकेको छ । जसअनुसार अब २ खर्ब १२ अर्ब ८८ करोडको सीमा ननाघ्ने गरी बैंकले पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा निर्धारण गरिएको छ ।

कोभिड-१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध स्रोतको आधारमा पुनरकर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकको भनाइ छ ।

पुनरकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै राष्ट्र बैंकले इन्टरनेट सेवा प्रदायक, विद्युतीय सेवा प्रदायक तथा महामारी नियन्त्रणका लागि खोप उत्पादन गर्ने संस्थाका लागि ३ प्रतिशत ब्याजदरमा पुनरकर्जाको सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै साधारण पुनरकर्जातर्फ विद्युतीय चार्जिङ स्टेशन स्थापनका लागि ५ प्रतिशत ब्याजदरमा पुरनकर्जा उपलब्ध गराउन सकिने व्यवस्था समेत थप गरेको छ ।


क्लिकमान्डु