एमालेको विरोधका बीच दुबै सदनबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित



काठमाडौं । सरकारले संसदको दुबै सदनबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको छ । बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया शुरु हुने भएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए ।

‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि र लालमोहर लागिसकेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ । सम्भवत्ः आजै खुल्छ । सभामुखज्यूले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ । त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ,’ उनले भने ।

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए । उनले एक, दुई दिनमै सरकार बिस्तार गरिने पनि बताए ।


क्लिकमान्डु