इन्टरनेट, विद्युतीय भुक्तानी सेवा प्रदायक र खोप उत्पादन गर्नेले ३% ब्याजदरमा ऋण पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्टरनेट सेवा प्रदायक संस्था, विद्युतीय भुक्तानी भुक्तानी सेवा प्रदायक तथा सञ्चार सेवा प्रदायकलाई विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छ ।

साथै महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि पनि विशेष पुनरकर्जा पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बिहीबार पुनरकर्जा कार्यविधि, २०७७ मा तेस्रो संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘ब्रोडब्याण्ड प्रबद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रबद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्नका लागि पुनरकर्जा उपलब्ध हुनेछ,’ कार्यविधिमा भनिएको छ ।

यसअघि निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा मात्रै पुनरकर्जाको व्यवस्था गरेको थियो ।

हाल विशेष पुनरकर्जामा नेपाल राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर लिँदै आएको छ भने इजाजतपत्र संस्थाले ग्राहकसँग बढीमा ३ प्रतिशतसम्म ब्याजदर लिन पाउने व्यवस्था छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनि बैंकले तोकेका ग्राहक ऋणीका लागि ६ महिनाका लागि पुनरकर्जाको व्यवस्था गरेको छ ।

यस्ता ऋणीले प्रतिग्राहक ऋणी अनुसार ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउनेछन् । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनरकर्जाको रकम र कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नुहने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ ।


क्लिकमान्डु