चालु आवको पहिलो महिनामा आयात र निर्यात दुबै बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा निर्यात र आयात घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु.१५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई रु.१२९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।


क्लिकमान्डु