दशैं लक्षित बजार अनुगमन आजदेखि शुरु



काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी आजबाट संयुक्तरूपमा बजार अनुगमन गर्न शुरू गरेको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तरदेखि औषधी विभागका प्रतिनिधिको संयुक्त रुपमा बजार अनुगमन गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुने भएको छ । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले दैनिक रुपमा गर्दै आएको अनुगमन गर्दै आएका छन् । तर, चाठपर्वको समयमा अत्याधिक व्यापारसँगै अखाद्य वस्तु बिक्री गर्ने, मूल्य बढाउने प्रवृत्ति भएकाले विशेष अनुगमन गर्ने प्रचलन रहिआएको छ । सोही अनुसार यो वर्ष पनि विशेष अनुगमन शुरू गरेको छ ।

विभागले सामान्य अवस्थामा करिब ४ टोली अनुगमनको लागि खटाउँदै आएका थिए । त्यस्तै, विभागले गत भदौ २८ गतेदेखि नै अनुगमनको लागि कर्मचारी थप गरेर ७ टोलीसहित बजार अनुगमन गरिरहेका छन् ।

विभागका प्रवक्ता शिवराज सेढाइले गत भदौबाट ७ टोलीसँगै आजबाट चाडपर्वलक्षित संयुक्त रुपमा अनुगमन शुरु गरेको बताए ।

उनकाअनुसार बजारमा ऐन विपरीत कारोबार गर्ने सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ । हाल उपत्यकामा उक्त टोलीले अनुगमन गरिरहेका छन् । त्यस्तै, उपत्यकामात्रै नभएर उपत्यकाबाहिर पनि अनुगमन गर्ने निर्णय भएको विभागले जनाएको छ ।
आजबाट संयुक्त रुपमा अनुगमन गर्ने टोलीले आफ्नो कार्य क्षेत्रभित्रको अनुगमन गर्ने सेढाइले जानकारी दिए ।

‘गत भदौ २८ गतेबाट ७ टोली खटाएर विभागले तीव्ररुपमा अनुगमन शुरू गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘अबका दिनमा संयुक्त रुपमा अन्य टोली खट्नेछ ।’

उक्त अनुगमनले बजार केहीसम्म सुधार हुने विभागको दाबी छ ।


क्लिकमान्डु