नेप्सेमा करिब ७७ अंकको गिरावट, कारोबार रकम ९ अर्बमाथि



काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेर २ हजार ८१२.३८ मा ओर्लिएको छ । नेप्से परिसूचक ओरालो लाग्ने क्रम लगातार जारी रहेको बेला साताको अन्तिम दिन बिहीबार झनै उच्च अङकले घटेको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा ओर्लिएको छ । नेप्से ओरालो लागेपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । कूल २२२ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मा कारोबार भयो ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ४१.१४, व्यापार ११०.१३, होटल तथा पर्यटन १२५.८३, विकास बैंक १९७.२२, जलविद्युत् १३७.७९, वित्त १३९.४४, निर्जीवन बीमा ३८३.७, उत्पादन १३७.३९, अन्य ३१.१६, लघुवित्त १७१.७७, जीवन बीमा ४५२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.३९ अङ्कले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ बराबरको कारोबार भयो ।

मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै आइसिएफसी फाइनान्सको डिवेञ्चर १.२३, सानिमा बैंकको डिवेञ्चर ०.७७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक ८.१७, श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१८, आइसिएफसी फाइनान्स ७.०३, लिवर्टी इनर्जी ६.७४ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.५६ प्रतिशतले गुमाए ।


क्लिकमान्डु