प्रभु क्यापिटलले ‘प्रभु लिटल च्याम्प पीएमएस’ योजना सञ्चालन गर्ने



काठमाडौं । प्रभु क्यापिटलले बाल दिवसको अवसरमा बालबालिकालाई लक्षित गरेर प्रभु लिटल च्याम्प पीएमएस योजना सञ्चालन गर्ने भएको छ ।

‘हजुरका छोराछोरीको लागि लगानी सँधै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने नारा रहेको यो योजना क्यापिटलले ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा सञ्चालन गर्नेछ ।

यो योजना अन्तर्गत क्यापिटलले १६ वर्षसम्मका बालबालिकका लागि लगानीगर्न चाहने अभिभावकलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।

यो योजनाको सेवा लिनका लागि बालबालिका पीएमएसमा जोडिएपछि क्यापिटलले एक पीएमएस बापत १ जना गरीब तथा पिछडीएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने बताएको छ ।

यो योजनामा न्यूनतम लगानी अवधि ५ वर्षको रहेको छ । हर्डल रेट ८ प्रतिशत रहेको छ तथा वार्षिक व्यवस्थापन शुल्क २ प्रतिशत रहेको छ । मुनाफामा लाग्ने शुल्क २० प्रतिशत हुनेछ । लकइन अवधि ५ वर्ष तथा लकइन अगावै योजना बन्द शुल्क ३ प्रतिशत लाग्नेछ । नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात् गरिने क्यापिटलले बताएको छ ।

कार्यालय समयमा प्रभु बैंकका नेपालभर रहेका सबै शाखाबाट ग्राहकले यो योजनाको सेवा लिन सक्नेछन् । सहभागी भएका सेवाग्राहीले लगानी व्यवस्थापनको सम्पूर्ण विवरण अनलाइनबाट दैनिक रुपमा हेर्न सक्नेछन् । साथै, इमेलमा साप्ताहिक प्रतिवेदन हेर्न सक्नेछन् ।

यो सेवाका बारेमा थप जानकारी प्रभु क्यापिटलको वेवसाइटमा पाउन सकिनेछ । अथवा, टेलिफोन नम्बर ०१–५९७०२०० तथा मोबाइल नम्बर ९८४००७६२०० मा सम्पर्क गरेर पनि जानकारी लिन सकिनेछ ।

प्रभु क्यापिटलले यसअघि महिला लगानीकर्तालाई लक्षित गरी प्रभु ऐश्वर्य पीएमएस र सबै प्रकारका लगानीकर्ताका लागि प्रभु स्मार्ट पीएमएस योजना सञ्चालन गरेको थियो ।


क्लिकमान्डु