३ अर्बमा बन्दैछ निलवाराही हाउजिङ, मूल्य २ करोडदेखि ५ करोडसम्म



काठमाडौं । काठमाडौं उपत्यका नेपालको राजधानी मात्रै नभइ प्रमुख सहरमध्ये एक हो । अवसरको खोजीमा हरेक दिन मुलुकका हरेक जिल्लाबाट हजारौं मानिसहरु यहाँ प्रवेश गर्छन् । अवसरसँग सिर्जना हुने आधारभूत आवश्यकता पूर्ती गर्दै जाँदा सानो र चिटक्क परेको घर उपत्यकामै होस् भन्ने धेरैको कामना हुन्छ ।

तर अचाक्ली महंगा जग्गा र त्यसमा करोडौं खर्चेर घर बनाउने चाहना सबैको पूरा नहुन सक्छ । त्यसमाथि अव्यवस्थित सहरी विकासले भने जस्तो ठाउँमा रोजे जस्तो घर बनाउने चाहना सबैको पूरा नहुन सक्छ ।

त्यसैले पछिल्लो समयमा अव्यवस्थित सहरी बसोबासले कुरुप बनाउँदै गरेको उपत्यकाको सौन्दर्यलाई कायमै राख्नका लागि विभिन्न कम्पनीहरुले व्यवस्थित सहरी विकासको योजना अगाडि सारेका छन् । जसमा कैयन कम्पनीहरु निर्माणको काममा लागेका छन् ।

निजी कम्पनीहरु मात्रै होइन, सरकार आफैले पनि उपत्यकाका चार स्थानमा स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ । यद्यपि उक्त स्मार्ट सिटीले जग हाल्न भने अझैसम्म सकेको भने छैन ।

तर केही निजी कम्पनीहरु यस्ता छन् । जसले मानिसहरुको व्यवस्थित बसोबासको चाहनालाई साकार पार्न तल्लीन छन् । मानिसहरुको यही चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप लामो समयदेखि व्यवस्थित बसोबासका लागि काम गरिरहेको कम्पनीको सीई कन्स्ट्रक्सन ।

लामो समयदेखि उपत्यकाका विभिन्न स्थानमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरिरहेको कम्पनीको पछिल्लो प्रोजेक्टमध्येको एक हो निलवाराही हाउजिङ एण्ड अपार्टमेन्ट ।

कम्पनीले भक्तपुर चांगुनारायणमा निर्माण भइरहेको ‘निलवाराही हाउजिङ र अपार्टमेन्ट’ निर्माण गरिरहेको छ । कुल ५५ रोपनी क्षेत्रफलमा कम्पनीले हाल हाउजिङसहितको अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

कम्पनीले यस प्रोजेक्ट अन्तर्गत ९९ युनिट घर निर्माण गरिरहेको छ । जसमा निर्माण हुने घरलाई कम्पनीले सेवा सुविधा तथा क्षेत्रफलका आधारमा विभिन्न ६ वर्गमा विभाजन गरेको छ । कम्पनीले ९९ युनिटमध्ये टाइप ‘ए’ अन्तर्गत २६ युनिट, टाइप ‘बी’ अन्तर्गत २८ युनिट, टाइप ‘सी’ अन्तर्गत २१ युनिट, टाइप ‘डी’ अन्तर्गत १३ युनिट, टाइप ‘ई’ अन्तर्गत ७ युनिट र टाइप ‘सिडी’ अन्तर्गत ४ युनिट निर्माण गरिनेछन् । वर्गअनुसार हाउजिङर अपार्टमेन्टको मूल्य पनि फरक पर्ने कम्पनीको भनाइ छ ।

ती घरहरु न्यूनतम ४ आनादेखि ७ आनाको क्षेत्रफलमा निर्माण हुनेछन् । उक्त क्षेत्रमा करिब ७० वटा युनिट हुने अपार्टमेन्टको डिजाइन समेत भइरहेको कम्पनीले जनाएको छ ।

कुन घरको मूल्य कति ?
कम्पनीले विभिन्न ६ प्रकारका घर निर्माण गर्ने छ । उक्त घरको मूल्य पनि फरक-फरक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण भइरहेको घरको बुकिङ खुल्ला गरेदेखि हालसम्ममा ६० प्रतिशत घर बिक्री भइसकेको कम्पनीका मार्केटिङ म्यानेजर संगिता डंगोलले जानकारी दिइन् । उनका अनुसार कम्पनीले निर्माण भइरहेका घरको शुरुवाती मूल्य १ करोड ९१ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

कम्पनीले एउटा घरको शुरुवाती मूल्य १ करोड ९१ लाख ६७ हजार राखेको छ भने अधिकतम ४ करोड ९४ लाख ४६ हजार रुपैयाँ तोकेको छ । कम्पनीले सो घरको मूल्य जग्गा, फर्निसिङको हिसाबले मूल्य कायम गरिएको जानकारी दिएको छ । जसमा कम्पनीले हालसम्ममा टाइप ‘ए’, ‘डी’ र ‘सीडी’को मूल्य तोकेको छ ।

टाइप ‘ए’ को घरलाई कम्पनीले १ करोड ९१ लाख ६७ हजार तोकेको छ । टाइप ‘ए’ घर १ हजार ५४० स्क्वायर फिटको दुई तल्लाको भवन बन्नेछ । जसमा भुई तल्ला ६३७ स्क्वायर फिटको बन्नेछ भने पहिलो तला ६५४ स्क्वायर फिट र दोस्रो तल्ला २२५ स्क्वायर फिटको बन्नेछ ।

टाइप ‘बी’का घर १६ सय ४० वर्गफिटमा निर्माण हुनेछ भने टाइप ‘सी’का घर १८ सय ५५ वर्गफिटमा निर्माण हुनेछ ।

त्यस्तै टाइप ‘सीडी’ घरको मूल्य ३ करोड ७४ लाख ३२ हजार तोकेको छ भने टाइप ‘डी’ घरको मूल्य ४ करोड २६ लाखदेखि ४ करोड ९४ लाख रुपैयाँ तोकेको छ । साथै टाइप ‘डी’को घरमा अत्याधिक सेवा सुविधा हुने कम्पनीले जनाएको छ ।

उक्त मूल्य टाइप ‘डी’ घर ११ आनामा २६ सय स्क्वायर फिटमा बन्नेछ । जसमा ग्राउन्ड तल्ला ९२५, पहिलो तल्ला १०६० र दोस्रो तल्ला ६१५ स्क्वायर फिटको बन्नेछ ।

यस्ता हुनेछ सुविधा ?
कम्पनीले निर्माण गरिरहेको निलवाराही हाउजिङमा विभिन्न प्रकारका सेवा सुविधा उपलब्ध हुने जानकारी दिएको छ । जसमा हाउजिङ क्षेत्रका प्रत्येक घरमा पहुँच मार्गको रुपमा ६ मिटरको सडक हुनेछ । हाउजिङभित्र हाउजिङभित्र ३ वटा खुल्ला तथा हरित क्षेत्र राखिएको छ ।

हाउजिङमा पार्किङ, विद्युत्, खानेपानी, सञ्चार, ढल व्यवस्थापन, कम्युनिटी हललगायतका सुविधा हुनेछन् । कम्पनीले उक्त हाउजिङसहित अपार्टमेन्टको लागत करिब साढे ३ अर्ब हुने अनुमान गरेको छ ।

कम्पनीले भक्तपुरमा मात्रै नभएर पोखरा, विराटनगर, थापाथलीलगायत अन्य स्थानमा पनि हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।


अरिष्मा मोक्तान