मोटरसाइकलमा बढाइएको करमा नाडाको आपत्ति, पुरानै सेगमेण्टलाई निरन्तरता दिन माग



काठमाडौं । नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले मोटरसाइकलको कर वृद्धिबारे आपत्ति जनाएको छ ।

नाडाले आज पत्रकार सम्मलेन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको प्रतिस्थापन विद्येयकबाट ल्याएको बजेटप्रति प्रतिक्रिया दिँदै मोटरसाइकल कर वृद्धिबारे आपत्ति जनाएको हो ।

बजेटमा निजी दुई पाङ्ग्रे सवारी साधनमा मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुबैमा वृद्धि गरेको छ । जसले गर्दा दुई पाङ्गे्र सवारी साधनलाई प्रोत्साहन गर्नुको साट्टो निरुत्साहित गरेको नाडाको भनाइ छ ।

त्यस्तै पत्रकार सम्मलेनमा नाडाले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार पर्ने भएकाले गत वर्ष कायम गरेको सेगमेन्टलाई नै निरन्तरता दिन अनुरोध गरेको छ ।

नाडाले हरेक वर्ष सरकारलाई सुझाव दिँदै नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको छ ।

हाल प्रस्तुत बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट गरेको छ ।

जसमा नाडाले उक्त व्यवस्थालाई स्वागत गर्दै नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा गरेका छन् ।

तर, त्यस्ता सवारी साधनहरू उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससंग सम्बन्धित ऐन र नीति नियमहरूको स्थिरता रहने नाडाको विश्वास रहेको जनाएको छ ।


क्लिकमान्डु