स्टार्टअप कम्पनीलाई ५ वर्षसम्म करमा शतप्रतिशत छुट



काठमाडौं । सरकारले स्टार्टअप कम्पनीहरुलाई कारोबार शुरु गरेको ५ वर्षसम्म करमा छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गर्ने गरी वार्षिक १ करोडसम्म कारोबार गर्ने विभागले तोकेको स्टार्टअप व्यवसायलाई कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुटको व्यवस्था गरेको हो ।

त्यसैगरी औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भइ सञ्चालनमा रहेका विशेष उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत र त्यसपछिको ५ वर्षसम्म ५० प्रतिशत छुट हुनेछ ।

साथै, काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भइ सञ्चालन भएमा त्यसरी स्थानान्तरण भइ सञ्चालन भएको मितिले तीन वर्ष करमा शतप्रतिशत छुट र त्यसपछिको २ वर्षसम्म करमा ५० प्रतिशत छुट पाउनेछन् ।
वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको पहिलो तीन वर्षसम्म ५० प्रतिशत र त्यसपछिको २ वर्षसम्म ५० प्रतिशत कर छुट हुनेछ ।

साथै स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु गरेको पहिलो तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको २ वर्षसम्म ५० प्रतिशत कर छुट हुनेछ ।


क्लिकमान्डु