उर्जा बचत कार्य गर्ने ४ कम्पनीले पाए अनुदान र सम्मान



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्यू बैंकमार्फत् प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ ।

बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार २३१ रुपैयाँ र सालिमार मेटल्सलाई ३२ लाख ८ हजार ८०० रुपैयाँ हस्तान्तरण गरेको हो ।मितव्ययी तथा प्रभावकारी उर्जा बचत

हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको भन्दै स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकम हस्तान्तरण गरिएको हो ।

नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान समेत गरे ।

उनले हालसम्म २१ वटा उद्योगलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी दिए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जुटेटिङका रुपमा सहायता सम्बन्धी कार्य गर्दै आएको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइन्छ ।

आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।


क्लिकमान्डु