ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने



काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ई-सिम ल्याउने भएको छ । विज्ञान तथा प्रविधिले गरेको विकासले प्लास्टिकको सिम कार्डबिना नै फोन प्रयोग गर्न सकिने भएकाले टेलिकमले पनि आफ्ना प्रयोगकर्तालाई ई-सिम ल्याउने तयारी भएको हो ।

टेलिकमले उक्त अवधारणामा नेपालमा ल्याउनको लागि डिभाइसलगायत आवश्यक पूर्वाधारको बारेमा अध्ययन तथा छलफल गरिरहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार प्रविधिको विकाससँगै अघि बढ्नुपर्छ भन्ने टेलिकमको अवधारणा हो । त्यसैले टेलिकमले सो प्रविधिमा ल्याउनुपर्छ भन्ने हो ।

नेपालमा उक्त ई-सिम कार्यान्वयनमा आए हाल सिम कार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने टेलिकमको दाबी छ । टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने तयारी रहेकाले सिमकार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने भएको हो ।

विशेषगरी छिमेकी देश भारतमा समेत ई–सिमको प्रचलन शुरू भइसकेको छ । भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक जियोले ई–सिम कार्यान्वयनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल टेलिकमले पनि ई–सिम कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढाएको छ । हाल नेपालमा प्लास्टिकबाट बनेको चिप जडित सानो कार्ड प्रयोग गर्दै आएका छन् । जसमा आफ्नो डिभाइसअनुसार सानो, मध्यम र ठूलो प्रकारका सिम प्रयोग हुँदै आएको छ । प्रविधिको विकाससँगै टेलिकमले कार्डको साटो मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने भएको छ ।

टेलिकमले आफ्नो क्षेत्राधिकारलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न प्रविधिको विकास गर्दै आएका छन् । सोहीअनुसार टेलिकमले ई-सिम कार्यान्वयन गर्नको लागि गृहकार्य शुरु प्रवक्ता जोशी बताउँछन् ।

उनका अनुसार नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयन गर्नका लागि विभिन्न उपकरण तथा अध्ययन गरिरहेको छ ।

‘ई-सिमको लागि टेलिकमले अध्ययन तथा छलफलकै क्रममा रहेको छ,’ उनले भने, ‘सम्भवत् यो वर्ष नै उक्त अवधारणा ल्याउने तयारी गरेको छ ।’

के हो ई-सिम ?
ई-सिम मोबाइल फोनमा प्रयोग हुने भर्चुअल सिम हो । ई-सिम मुख्य डिभाइसका लागि प्रयोग हुनेछ । उक्त डिभाइसमा सिम कार्डबिनै मोबाइल तथा डिभाइसमा इन्टरनेट तथा फोन गर्न सक्ने व्यवस्था हुनेछ ।

हाल नेपाली बजारमा सिम कार्ड किने मोबाइलको डिभाइसअनुसार सिम कार्डको प्रयोग गर्नुपर्दछ । तर आगामी दिनमा ई–सिम कार्यन्वयन आएमा उक्त सिम कार्ड किनेर हाल्नुपर्ने बाध्यता हट्नेछ ।

ई-सिमको अवधारणा सञ्चालनमा आएमा अहिले सिमकार्ड किन्ने प्रचलनको अन्त्य हुने टेलिकमको भनाइ छ । जसमा डिभाइसमै सम्पूर्णसिमको सेवा सुविधा भएकाले सहज हुनेछ ।

‘ई-सिम प्रयोगमा आएपछि टेलिकमको सेवा प्रदायक कार्यालयमा गएर सिम लिन आवश्यक पर्दैन,’ उनले भने, ‘अबको दिनमा भौतिक रुपमा उपस्थित भई गर्ने कार्यको अन्त्य हुनेछ ।’

ई-सिम कार्ड हरायो, वा बिग्रियो भनेर हुने तनाव समेत नहुने देखिन्छ । ई-सिमले अपरटेर परिवर्तन गर्दा दोस्रो सिम कार्ड लिने झन्झट समेत पर्दैन । टेलिकम सेवा प्रदायक समेत फरक–फरक रहेकाले उनीहरू परिवर्तन गर्न चाहेमा समेत सहजै गर्न सकिने सुविधा रहेको छ ।

आइफोन, सामसुङ, गुगल, मोटोरोला जस्ता स्मार्ट फोनमा ई–सिमको सुविधा रहेको छ । ती कम्पनीको मोबाइलमा ई-सिम सपोर्ट गर्ने विवरणहरू सार्वजनिक भएका छन् । ई-सिम टेलिकम कम्पनीले ओभर द एयर एक्टिभेट हुनजान्छ । तर, त्यसमा प्रयोगकर्ताले आफ्नो सिम

कार्डको जस्तै फिचरसमेत पाउन सक्नेछन् । ई-सिम कार्डको प्रयोगकर्ताले अपरेटर बदल्न खोजेको खण्डमा सजिलै परिवर्तन गर्न सक्नेछन् ।
सामसुङको ग्लोक्सी नोट २० नोट २० अल्ट्रा, सामसुङ ग्लोक्सी एस २१, ५ जी, एप्पलको ११, आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्समा पनि ई–सिम सपोर्ट गर्ने भएको छ । त्यसैले सो सिस्टमलाई सपोर्ट गर्नको लागि डिभाइस उपलब्ध नभएकाले सो अनुसारको डिभाइस उपलब्ध गर्न आवश्यक रहेको उनले बताए ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । साथै, डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भौतिक रुपमा उपस्थित भई डिभाइसको कार्य गर्नुपर्नेको अन्त्य हुने टेलिकमको दाबी छ ।


क्लिकमान्डु