नेपालमा ५२ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको



काठमाडौं । नेपालमा विभिन्न ५२ देशको करिब २ खर्ब लगानी रहको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै नेपालमा कुल १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ वैदेशिक लगानीको मौज्दात रहेको जनाएको हो ।

उक्त वैदेशिक लगानीमध्ये सबैभन्दा बढी भारतको रहेको प्रतिवेदनले उल्लेख गरेको छ । भारतको मात्रै ६२ अर्ब ४५ करोड रहेको छ । भारतपश्चात चीनको ३० अर्ब ९७ करोड, सेन्ट किष्टस् एण्ड नेभिसको १५ अर्ब २७ करोड, आयरल्याण्डको १२ अर्ब ९३ करोड र सिङ्गापुरको १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १ सय ९८ वटा कम्पनीको नमूना र ५ सय ८७ जनाको संख्या छनोट गरी सर्वेक्षण गरेका थिए । उत्त, सर्वेक्षणको तथ्याङ्क र अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ तयार पारेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ ।

वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ ।

त्यसैगरी नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत सेवा क्षेत्रमा र औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत रहेको छ ।

त्यस्तै सेवा क्षेत्रमा ४३.९ प्रतिशत, २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत र होटल तथा रेष्टुरेन्टमा ६ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँदछ ।


क्लिकमान्डु