लगातारको घाटापछि फोर्डले भारतमा गाडी उत्पादन बन्द गर्ने



अमेरिकन अटोमोबाइल कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने निर्णय गरेको छ । फोर्डले भारतमा उत्पादन गरिरहेको फोर्ड फिगो, फोर्ड फ्रिस्टाइल, एस्पायर, इकोस्पोर्ट र एंडेवर जस्ता उत्पादनको बिक्री भएपछि बन्द गरिने बताएको छ ।

लगातारको घाटाले गर्दा फोर्डले भारतमा आफ्नो उत्पादन बन्दगर्ने निर्णय गरेको हो । फोर्डलाई करिब २ अर्ब डलरको घाटा लागेको छ ।

त्पादन बन्द गरेपनि ग्राहकलाई सर्भिस दिने र वारेन्ट सपोर्ट जारी राखिने फोर्ड इन्डियाका अध्यक्ष एवं व्यवस्थापन प्रमुख अनुराग मेहरोत्राले बताए ।

फोर्डले गुजरातको साणंदमा रहेको इञ्जिन प्लान्ट भने बन्द गर्ने छैन र उत्पादन सेवा जारी राख्नेछ । त्यस्तै फोर्ड मस्टेङको बिक्रीपनि जारी राख्नेछ ।

फोर्डले सन् १९९५ मा महिन्द्रासँग सहकार्य गरेर भारतमा प्रवेश गरेको थियो । त्यतिबेला कम्पनीको नाम महिन्द्रा फोर्ड इन्डिया लिमिटेड थियो । फोर्ड इन्डियाले जुलाई २०१८ सम्ममा १० लाख ग्राहक बनाएको थियो ।

फोर्डले भारतीय बजारमा लामो समयदेखि संघर्ष गरिरहेको छ । कम्पनीका गाडी बिक्रीमा ओराले लागेसँगै कोभिड महामारीले फोर्डको अवस्था झनै खराब भएको थियो ।

अगस्टसम्ममा फोर्डले भारतभर जम्मा १ हजार ५०८ वटा गाडी बेचेको थियो भने अघिल्लो वर्ष ४ हजार ७ सय ३१ वटा गाडी बेचेको थियो ।

अर्थात् कम्पनीको बिक्रीमा ६८.१ प्रतिशतले ह्रास आएको छ । फोर्डको रिपोर्टअनुसार प्यासेन्जर भेहिकल सेगमेन्टमा अगस्टमा फोर्ड इन्डियाका ३ हजार ६०४ वटा गाडी दर्ता भएका थिए । जसको बजार सेयरमूल्य जम्मा १.४२ प्रतिशत थियो । सन् २०२० अगस्टमा फोर्डको बजार सेयर १.९० प्रतिशत थियो ।

१० प्रतिशत कम क्षमतामा काम गरिरहेको साणंद ह्वीकल म्यानुफ्याक्चरिङ प्लान्टभन्दा पहिला बन्द हुने संभावना छ । चेन्नई प्लान्टलाई ग्लोबल अर्डर र भारतीय अपरेशन सर्भिसका लागि २०२२ सम्म सञ्चालनमा नै राखिनेछ ।

फोर्डको यो निर्णयको असर भने त्यहाँ कामगर्ने ४ हजार कर्मचारीमाथि पर्नेछ । भारतमा फोर्डको म्यानुफ्याक्चरिङ यूनिट मराईमलाई (चेन्नई) र साणंद (गुजरात) मा छन् । जहाँ करिब ४ हजार कर्मचारी कार्यरत छन् । साणंदको इन्जिन प्लान्टमा ५ सयभन्दा धेरै कर्मचारी छन् । उनीहरु सबैभन्दा धेरै बिक्ने रेन्जर पिकअप ट्रकको इन्जिन बनाउँछन् । भारतभर फोर्डका ११ हजारभन्दा धेरै कर्मचारी छन् ।


क्लिकमान्डु