कुल वैदेशिक लगानीको ५६ % औद्योगिक र ४४% उत्पादन क्षेत्रमा



काठमाडौं । नेपालले वार्षिक रुपमा प्राप्त गर्दै वैदेशिक लगानीको ५६ प्रतिशत हिस्सा औद्योगिक र ४४ प्रतिशत हिस्सा उत्पादन क्षेत्रमा भित्रिने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/७७’ अनुसार उत्पादन क्षेत्रमा भन्दा औद्योगिक क्षेत्रमा बढी वैदेशिक लगानी आउने गरेको देखिएको हो । राष्ट्र बैंकले हरेक वर्ष प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी त्यस्तो लगानीको क्षेत्रगत अवस्था र प्रवृत्ति विश्लेषण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरुमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षण प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/७७ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ९२ करोड कायम भएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ ।

त्यस्तै, चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असार मसान्तमा नेपालमा ५२ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्टस क्सिट एण्ड नेभिसबाट १५ अर्ब २७ करोड आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्रिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु