अफर दिँदै सौराहाका होटल




चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।
आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए ।


‘गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन । पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका हुँदा यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् ।’– घिमिरेले भने ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका हुन् । जसमा दुई रात तीन दिनको सो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने उनले जानकारी दिए ।

यस्तै, होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टले पनि रेन फरेष्टमा प्याकेज घोषणा गरेका छन् ।

‘हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ,’ उनले भने ‘प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्दछ ।’
जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्टसँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्ने उनले जानकारी दिए ।
यता, होटल सेभेनस्टारले दशैँ–तिहार अफर अन्तर्गत रुपमा ४० प्रतिशत छुट गरेको छ ।

साथै, खानमा पनि १० प्रतिशत छुट गरिएको होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले बताए ।

‘छुट दिएसँगै कार्यक्रम आइरहेको छ,’ दुवाडीले भने, ‘कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् ।’

भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताए ।

‘अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ ।’

राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पु¥याइदिन उनकोे आग्रह छ ।

आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनी बताउँछन् । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेराँ रहेका छन् ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए ।

‘कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको छौँ,’ खतिवडाले भने, ‘जे–जति नोक्सान हामीले व्यहो¥यौँ अब नहोलाजस्तो लाग्छ ।’

आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए ।

यसैगरी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए ।

कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो ।


क्लिकमान्डु