‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ कार्यान्वयनमा नेपालको असफलता



काठमाडौं ।अतिकम विकसित राष्ट्रहरुलाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले १ दशकअघि कार्यान्वयनमा आएको ‘इस्तानबुल घोषणापत्र’का लक्ष्य प्राप्तिमा नेपाल असफल देखिएको छ ।

सन् २०११ मे ९ देखि १३ तारिखसम्म टर्कीको इस्तानबुलमा भएको अतिकम विकसित राष्ट्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय चौंथो सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयनमा नेपालले केही लक्ष्य प्राप्त गरेपनि अधिकांश लक्ष्य हासिल गर्न नसकेको देखिएको हो ।

१० वर्षअघि अतिकम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन क्षमता, कृषि, खाद्य सुरक्षा, ग्रामिण विकास, व्यापार, सामाजिक विकास, क्षमता विकासमा आर्थिक स्रोत परिचालन, सुशासनलगायत विषयमा कार्यदिशा तय गरेर दिगो विकास लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित इस्तानबुल घोषणापत्र जारी गरी कार्यान्वयनमा ल्याएका थिए ।

गतहप्ता (भदौ १४ देखि १७ गतेसम्म) आयोजना भएको भर्चुअल कन्फ्रेन्सका क्रममा नेपालले इस्तानबुल घोषणापत्रका लक्ष्य र प्रतिबद्धता पूरा नभएको बारे जानकारी गराएको हो ।

बंगलादेश सरकार र अतिकम विकसित, भूपरिवेष्ठित राष्ट्र तथा साना टापुहरुका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युनिस्केप) को संयुक्त आयोजनामा सम्पन्न भर्चुअल कन्फ्रेन्समा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपालको वस्तुस्थितिबारे जानकारी गराएका हुन् । इस्तानबुल प्रोग्राम अफ एक्सन (आइपिओए) को कार्यान्वयन सम्बन्धमा नेपाल सरकारको तर्फबाट पौडेलले केही लक्ष्य पूरा भएपनि केही लक्ष्य प्राप्त गर्न नसकेको जानकारी गराएका हुन् ।

इस्तानबुल प्रोग्राम अफ एक्सनका प्राथमिकता प्राप्त क्षेत्रहरुमा उल्लेख्य प्रगति हासिल भएपनि समग्र कार्यान्वयन पक्ष मिश्रित तथा असमान रहेका कारण दिगो विकास लक्ष्य प्राप्तिको बाटो कठिन भएको विषय आयोगका उपाध्यक्ष पौडेलले कम्फ्रेन्समा राखेका थिए ।

अतिकम विकसित मुलुकमध्ये पनि कमजोर अर्थतन्त्र भएका मुलुकलाई विशेष प्राथमिकतासहित सहायता प्रदान गर्नुपर्ने, कोभिड १९ महामारीको अवस्थामा आर्थिक विविधिकरण तथा संरचनागत रुपान्तरणमार्फत् गरिबी घटाउनका लागि एसिया–प्रशान्त क्षेत्रका मुलुकहरु एकीकृत रुपमा अघि बढ्नुपर्ने, प्रत्यक्ष वैदेशिक लगानीलाई बढावा दिनुपर्ने र जलवायु परिवर्तनका विषयमा विशेष जोड दिइनुपर्ने विषय नेपालको तर्फबाट पौडेलले भर्चुअल कन्फ्रेन्समा प्रस्तुत गरेको जनाइएको छ ।

पाँचौ सम्मेलन दोहामा हुने

अतिकम विकसित राष्ट्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय पाँचौ सम्मेलन दोहाको राजधानी कतारमा हुने भएको छ । नेपाललगायत एसिया तथा प्रशान्त क्षेत्रका १२ वटा अतिकम विकसित मुलुकहरुको सहभागिता रहेको उक्त बैठकको उद्देश्य २०२२ जनवरी २३-२७ सम्ममा दोहामा आयोजना हुने टुंगो लागेको हो ।


क्लिकमान्डु