उद्घाटन गरेको २ महिनापछि माथिल्लो तामाकोशी पूर्ण क्षमतामा चल्यो, लागत बढेर ८४ अर्ब



C

काठमाडौं । काम नै नसकिएको आयोजनालाई दबाव दिएर तत्कालीन प्रधानमन्त्री केपी ओलीले नाम लेखाउनका लागि उद्घाटन गरेको माथिल्लो तामाकोशीको बल्ल व्यवसायिक उत्पादन शुरु हुने चरणमा पुगेको छ ।

आयोजनाले आइतबारदेखि ६ वटै यूनिट सञ्चालनमा ल्याएको छ । अब व्यवसायिक उत्पादन शुरु भएको मान्न सकिने बताइएको छ । आइतबारदेखि नै व्यवसायिक उत्पादन शुरु भएको भएपनि औपचारिक रुपमा भने बिहिबारदेखि उत्पादन थालिने बताइएको छ ।

आयोजनाले पूर्णक्षमतामा नै ४५६ मेगावाट बिजुली उत्पादन गरेको छ । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो आयोजनाले सफलता पाएको सम्वद्ध अधिकारीले जानकारी दिएका छन् ।

प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन शुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत शान्ति स्वस्ती गर्दै आयोजनाको सफलताको कामना गरियो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गरेको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गरेका छन् ।

सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो । काम नै नसकिएको आयोजनालाई दबावमा राखेर उद्घाटन गर्दा केही दिन थप समस्या भोग्नुपर्यो । उद्घाटन भएकै दिन मात्रै ७ मेगावाट मात्रै बिजुली उत्पादन भएको थियो । आयोजनामा जडान भएका उपकरणमा समस्या आएपछि कुलेखानीस्थित नेपाल विद्युत् प्राधिकरणको आयोजनामा लगेर उपकरणको मर्मत गर्नुपरेको थियो ।

आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०÷१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशन पुर्याइएको छ ।

विसं २०६८ भदो १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेका थिए । आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो । मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतीका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।

आयोजनाको शुरुआती लागत निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत ५२ अर्ब पुगेको छ ।

शुरुआती चरणमा निर्माण अवधिको व्याज १४ अर्ब लाग्ने अनुमान गरिएको भए पनि निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै ३२ अर्ब पुगेको छ । यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब पुगेको छ । आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उतपादन गर्छ । त्यो भनेको कूल दुई अर्ब २८ करोड यूनिट बिजुली हो । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाको नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिनुभएको थियो । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि पधिकरणले २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रतियूनिट औसतमा ३ रुपैयाँ ५० पैसा रहेको छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा ४ रुपैयाँ ६ पैसा प्रतियूनिटमा खरिद गर्ने सम्झौता भएको छ । प्राधिकरण र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिददर हालसम्मकै सस्तो हो ।

रुग्ण अवस्थामा रहेको आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालमा हरेक महिना आयोजना स्थल नै पुगेर सहजीकरण गरेका थिए ।

आयोजनाका निर्माण व्यवसायीलाई परिचालन गर्नेदेखि सम्वद्ध कर्मचारीलाई आड भरोसा प्रदान गर्ने काममा समेत उनले विशेष पहल गरेका थिए ।


क्लिकमान्डु